logo
२०८१ मंसिर ९ आईतवार



संस्कृतले बढायो ज्ञानको क्षितिज

खुला |


संस्कृतले बढायो ज्ञानको क्षितिज


सविता शर्मा

काठमाडौँ, असोज २४ गते । नेपालमा पहिले संस्कृत शिक्षा नै धेरै पढिन्थ्यो । समयको अन्तरालमा संस्कृत पढ्ने परम्परा ओझेलमा प¥यो । हाम्रो आफ्नोपन र जीवनसँग जोडिएको संस्कृतको ज्ञान लिने क्रम विस्तारै घट्दै गयो । अन्य भाषा र विषय पढ्ने क्षेत्रहरूको व्यापक विस्तार हुँदै गर्दा संस्कृत भने खुम्चिँदै गयो ।
पूर्वीय संस्कार र सभ्यतासँग जोडिएको अथाह ज्ञानको स्रोत मानिने संस्कृतभाषा र दर्शन सिक्ने क्रम भने सुरु भएको छ । पूर्वीय दर्शनको ज्ञानलाई जीवनसँग जोडेर बुझ्ने चाहना राख्दै विभिन्न ठाउँमा कक्षा सञ्चालन भएका छन् । अन्य विषय र पेशामा रहेका प्रबुद्ध व्यक्ति नै संस्कृतभाषा र पूर्वीय दर्शनको कक्षा लिन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाली विषय पढाउने राधिकादेवी गुरागाईंले संस्कृतभाषा र दर्शनको कक्षा लिइरहनुभएको छ । उहाँले संस्कृतभाषा र पूर्वीय वाङ्मयको ज्ञानको भोक मेट्न आफूले कक्षा लिइरहेको बताउनुभयो । स्कूलमा पाँच कक्षासम्म पढेको संस्कृतप्रतिको मोह उहाँमा भित्रभित्रै दबेको थियो, भङ्ग भएको थिएन । उहाँले भन्नुभयो, “पहिले चार/पाँच कक्षामा पढ्दा सबैभन्दा बढी नम्बर संस्कृतमा आउँथ्यो, पढ्न रमाइलो लाग्थ्यो ।” पाँच कक्षाबाट विराम पाएको संस्कृत शिक्षालाई उहाँले पीएचडी गर्ने क्रममा फेरि जोड्नुभयो ।
विद्यावारिधिमा बालकृष्ण समका कृतिमा दर्शनको खोज गरिरहनुभएकी गुरागाईंलाई त्योभन्दा पहिले आफँैले दर्शन बुझ्न मन लाग्यो । त्यसैले उहाँ अहिले संस्कृतभाषा र पूर्वीय दर्शनको विद्यार्थी बन्नुभएको हो । अहिले पढ्दा जीवन जिउनु र बाँच्नुको फरक बुझेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वेद र पूर्वीय दर्शनमा के छ भन्ने जिज्ञासा थियो, अहिले दर्शन के हो भन्ने बोध भयो । दर्शनले जीवनलाई कसरी सरल ढङ्गले बाँच्न सकिन्छ भन्ने कुरा सिक्न पाएँ, संस्कृतमा जीवन पाएँ ।”
यसरी सिक्न इच्छुक विद्यार्थीलाई प्रशिक्षक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले दर्शन र वैदिक साहित्य सिकाउनुहुन्छ । उहाँले भन्नुभयो,‘‘ वेद स्वयं विज्ञान हो, वेदभित्र विस्तृत ज्ञान छ, त्यो ज्ञानलाई परम्परागत होइन, वैज्ञानिक किसिमले पढाउँछु ।’’
चिकित्सा, पर्यावरण, भौतिक विज्ञान, रसायन विज्ञान यावत् कुरा वेदमा छन् । वेदका मन्त्र दिएर प्रमाणसहित प्रष्ट्याइदिन्छु । वैदिककालीन समाज, अर्थ, सैन्य व्यवस्था, भेषभूषा र खानपान त्यतिखेरको वैदिक समाजको समग्र चित्र प्रमाणसहित देखाउँछु ।”
उहाँले वेद र दर्शनको अभिप्राय आफूलाई बुझ्नुभएको स्पष्ट पार्दै भन्नुभयो, “पाश्चात्य दर्शनले खुला आँखाले जे देखिन्छ त्यही मात्र संसार हो भन्छ । पूर्वीय दर्शन(वेद)द्वारा आन्तरिक ज्ञानको चक्षु (आँखा) ले देखिने संसार त्योभन्दा फरक र व्यापक छ, त्यो कुरा बुझाउने प्रयास हुन्छ । त्यसैबाट आफैँलाई चिन्ने हो ।”
वेदमा आधारित भएर वैदिक दर्शन सिकाउने गरेको स्पष्ट पार्दै उहाँले साङ्ख्य, योग, मीमांसा, वेदान्त, न्याय र वैशेषिक छ वटा दर्शनका बारेमा सिकाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वब्रह्माण्डको उत्पत्ति, सृष्टिको उत्पत्ति, संसार के कस्ता पदार्थले निर्माण भएको छ, कसरी अन्तरमिश्रण भएर विश्व ब्रह्माण्ड, वेद र दर्शनमा ती कुरा छ भनेर संस्कृतले मात्र प्रमाणित गरेर देखाउँछ ।”
यस्तै कक्षा समाप्तिसँगै शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीबाट दीक्षान्त लिएर प्रफुल्लित मुद्रामा भेटिनुभएका तिलक पौडेलले संस्कृत र पूर्वीय दर्शनको अध्ययन गर्न पाउँदा आफ्नो ज्ञानको क्षितिज खुलेको बताउनुभयो । पूर्वीय दर्शनमा के रहेछ भन्ने जिज्ञासा मेटाउन आएको बताउँदै पौडेलले भन्नुभयो, “वेद उपनिषद्मा के रहेछ भन्ने मोटामोटी जानकारी लिन सक्यौँ, यहाँ आएपछि केही हदसम्म तृष्णा मेटिन्छ ।”
पूर्वीय वाङ्मय प्रतिष्ठानले सञ्चालन गरेको कक्षामा संस्कृतभाषा र दर्शनका कक्षा सञ्चालन भइरहेको छ । यहाँ संस्कृत विषय नपढेका र यसमा रुचि भएकाहरू कक्षा लिन आउने गरेका छन् । निजामती सेवाबाट निवृत्त उच्च तहका कर्मचारी (उपसचिव, सहसचिव), मेडिकल डाक्टर, इन्जिनियर, सेनाको माथिल्लो तहबाट सेवानिवृत्त अधिकारीलगायतले कक्षा लिइरहेका छन् । युवा र संस्कृत जान्ने इच्छा भएका तर कारणवश पढ्न नपाएकाहरूले कक्षाबाट ज्ञान लिएका हुन् ।
संस्कृतभाषाका प्रशिक्षक डा. (पीएचडी) नारायण गड्तौलाले भाषाको संरचना सिकाउने गरेको बताउनुभयो । एउटा संरचनाबाट हजारौँ किसिमका वाक्य निर्माण हुनसक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो,“प्रशिक्षार्थीलाई संरचना दिन्छु, एउटा संरचनाले धेरै भाषिक ज्ञान हुन्छ ।” विद्यार्थीको चाहनाअनुसार पनि सिकाउने गरिएको उहाँले बताउनुभयो ।
कुनै मन्त्र लेखेर त्यसको भाषिक संरचनाहित विषयवस्तुमा सिकाउने र यसैका माध्यमबाट विद्यार्थी संस्कृत वाङ्मयमा पस्ने गरेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?