logo
२०८१ मंसिर ९ आईतवार



नेपाल–चीन शैक्षिक सम्बन्ध: साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति

खुला |


नेपाल–चीन शैक्षिक सम्बन्ध:   साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति


प्रकृति अधिकारी

काठमाडौँ, असोज २५ गते । नेपालबाट बर्सेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् ।
नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन् । निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट बर्सेनि सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीन सरकारले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको छ ।
चीन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्ष उच्च शिक्षाका लागि ५० सिट उपलब्ध गराएको थियो । मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका अनुसार इन्जिनियरिङका लागि २६, कृषिका लागि छ, वनका लागि चार, विज्ञान तथा प्रविधिका लागि पाँच र मानविकीका लागि एक जनालाई छनोट गरी पठाइएको थियो । उनीहरूले स्नातकोत्तर तहका लागि छात्रवृत्ति पाएका थिए । आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए । स्नातकोत्तर तहका लागि दुईदेखि तीन वर्ष र विद्यावारिधिका लागि बढीमा पाँच वर्षका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।
शिक्षा मन्त्रालयकै वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा चीनमा अध्ययनका लागि एक हजार ८८१ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । तीमध्ये सबैभन्दा बढी ९६९ जनाले होटेल व्यवस्थापन विषय अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका थिए । एमबीबीएस अध्ययनका लागि ५० जनाले नो अब्जेक्सन लेटर लिएका थिए । त्यसबाहेक भाषा अध्ययन, होटेल व्यवस्थापनको इन्टर्नसिप गर्न, अन्तर्राष्ट्रिय वाणिज्य व्यवस्थापन, वाणिज्य प्रशासनलगायतका विषय अध्ययनका लागि पनि नो अब्जेक्सन लेटर लिएको सो शाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र सङ्कायबाट बर्सेनि १५ देखि २० जना विद्यार्थी चीनमा अध्ययनका लागि जाने गरेका छन् । स्नातकोत्तर तहका नेपाली विद्यार्थीले अन्तिम सेमेस्टरमा तीन महिना अध्ययन गर्न चीनतर्फ जाने गरेका छन् ।
सो सङ्कायका डिन डा. शिवलाल भुसालले चीनको सिचुआन विश्वविद्यालयमा विद्यार्थीहरू शोधका लागि त्यहाँ जाने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ कूटनीति, संस्कृति, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र आदि विषयका लागि चीनमा छात्रवृत्ति पाएर जाने गरेका छन् । त्रिविले सिचुआन विश्वविद्यालयसँग मिलेर ट्रान्स हिमालय रिसर्च सेन्टर पनि स्थापना गरेको छ । दुवै देशका परम्परा, संस्कृति, भूगोल आदिका बारेमा अनुसन्धान गर्न सो सेन्टर स्थापना गरिएको भए पनि हालसम्म एउटा सम्मेलन त्रिविले गरेको छ भन्दै डा. भुसालले थप्नुभयो, “तर सेन्टरलाई गति दिन सकिएको छैन । ”
यो दशैँअघि चीनबाट १० जना विद्यार्थी नेपाल आइपुगेका छन् । उनीहरूलाई विश्वभाषा क्याम्पसमा स्नातक तहमा विशेष नेपाली भाषा अध्ययनका लागि भर्ना गरिने जानकारी दिँदै मानविकी सङ्कायका डिन भुसालले युनान मिन्जु विश्वविद्यालयबाट नेपाली भाषा अध्ययनका लागि चिनियाँ विद्यार्थीहरू आइपुगेको बताउनुभयो ।
चीन सरकारले काठमाडौँ विश्वविद्यालयसँग मिलेर हालै डेढ सय जनालाई हवाई उड्डयन, जलस्रोत, प्रशासन, सार्वजनिक स्वास्थ्यलगायतका विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । चीनकै सेन्ट्रल साउथ विश्वविद्यालयले चितवनको भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । अरनिको समाजमार्फत पनि चीनले बर्सेनि थुप्रै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । समाजका सदस्य राजेन महर्जनका अनुसार गत वर्ष ३२ जनाले सिभिल इन्जिनियरिङ, चिकित्साशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यवस्थापन, भाषालगायतका विषयमा अध्ययन गर्न २७ वटा विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरेका थिए ।
चीन सरकारले रेलवे इन्जिनियरिङ विषय अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, “चीनमा नेपाली विद्यार्थीहरू राम्रा मध्येमा गनिन्छन् । नेपाली विद्यार्थीहरू मिहिनेती भएकाले चिनियाँहरूले मनपराउँछन् । ” यहाँबाट चीनमा अध्ययन गर्न समाजले पठाएकामध्ये आधाजसो चीनमै काम गरेर बसिरहेको उहाँले दाबी गर्नुभयो । एलआरआई कन्फ्युसियस क्लास रुम नामक संस्थाले विद्यावारिधिका लागि एक जना, पोस्ट ग्र्याजुएटका लागि एक जना र ग्र्याजुएटका लागि नौ जनालाई पठाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?