मकवानपुर समाचारदाता
हेटौँडा, असोज २७ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनमा आगजनी भएको छ ।
थाहा नगरको सानो फाखेलस्थित वडा कार्यालकोमा अज्ञात समूहले गएराति ११ः४० वजेको आगजनी गरेको हो ।
कार्यालय परिसरको प्रवेश द्वारमा लगाएको ताला फुटाएर प्रवेश गरी कार्यालय भवनको ढोका तोडफोड गर्दै कार्यालयमा आगजनी गरी गरेको वडा सदस्य चमेली वाइवाले जानकारी दिनुभयो ।
कार्यालयको अतिथि बस्नका लागि बनाइएको कोठामा आगजनी गरी अन्य कोठाको ढोका फुटाएर पेट्रोलियम पदार्थ छर्केर आगो लगाएको थियो ।
आगजनीबाट भवनको झ्यालका चौकोसदेखि कागजपत्रसम्म काम नलाग्ने भएको बताउँदै वडा सदस्य वाइवाले भन्नुभयो, स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भए पनि कार्यालयका कागजातहरुलगायतका सामग्रीहरू काम नलाग्ने अवस्थामा पुगेको छ ।
वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको छ ।
घटनामा संलग्न भएको आशंका स्थानीय चार जना र कैलाली जिल्लाका एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सोधपुछ र अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
करिव १४ लाख रुपियाँको लागतमा कार्यालय गत वर्ष मंसिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।
उक्त घटनाको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन ।