logo
२०८१ मंसिर ९ आईतवार



प्राविधिक कर्मचारीको अभावले योजना अलपत्र

खुला |




 


नगेन्द्र सापकोटा

काठमाडौँ, असोज २८ गते । स्थानीय तहमा प्राविधिक दरबन्दीका इन्जिनियरको अभाव हुँदा काममा समस्या बढेको छ । कतिपय काम ठप्प भएको छ भने कतिपय कार्यरत इन्जिनियरलाई कामको चाप थपिएको छ ।
स्थानीय तहमा एकजना प्राविधिक (इन्जिनियर) ले चारदेखि छवटा वडाको काम भ्याउन बाध्य हुनुपरेको छ । यसरी चापमा काम गर्दा प्राविधिक कर्मचारीको अभावमा दुर्गम स्थानीय तहका कतिपय योजना बीचैमा अलपत्र पर्ने गरेको देखिन्छ ।
सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) दरबन्दी निर्माण गर्दा साना गाउँपालिकामा एक स्थानीय तहमा कम्तीमा १० जना र ठूला नगरपालिकामा अधिकतम २० जनासम्म इन्जिनियर रहने गरी दरबन्दी स्वीकृत गरेको थियो । त्यसअनुसार प्राविधिक कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको हो ।
सरकारले कर्मचारी समायोजन गर्दा तीनै तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको छ । त्यसमा प्राविधिक इन्जिनियर भने दस हजार ६६२ जना मात्र छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा समायोजन भई गएका निजामती इन्जिनियर कर्मचारी चार हजार १५५, दुर्गम विकास समिति र घरेलु तथा साना उद्योग विकास समितिबाट ३१६ जना, साविक गाउँ विकास समितिका पाँच हजार ५५० र साविक जिल्ला विकास समितिका ६४१ गरी दस हजार ६६२ जना इन्जिनियर समायोजनमा परेका हुन् ।
कतिपय स्थानीय तहमा भने करार सेवामा प्राविधिक कर्मचारी भर्ना गरी काम भइरहेको छ । कुन स्थानीय तहमा कति प्राविधक कर्मचारी छन् भन्ने यकिन तथ्याङ्क सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छैन । मन्त्रालयले स्थानीय तहको अलग अलग निर्माण गरेको सङ्गठन संरचनामा १० वटा वडा भएको गाउँपालिका वा नगरपालिकामा सिभिल डिभिजन इन्जिनियर एक, इन्जिनियर एक र सब इन्जिनियर दुईजना र प्रत्येक वडामा सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर गरी एक एक जना रहने उल्लेख गरिएको छ ।
ललितपुरको बागमती गाउँपालिकाका सबइन्जियिनर विजयकुमार पण्डितले प्राविधिक कर्मचारीलाई कामको चाप हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा वडाको सङ्ख्या सातवटा छन् एकजनाले दुईदेखि तीनवटा वडा हेर्नुपर्छ, वडाको भूगोल ठूलो भएकाले काम भ्याउन धेरै गाह्रो हुने गरेको छ ।”
देशैभरका स्थानीय तहमा प्राविधिक कर्मचारीलाई कामको धेरै चाप हुने गरेको गुनासो गर्दै पण्डितले भूगोललाई आधार मान्ने हो भने एउटै वडामा दुई जनासम्म इन्जिनियर चाहिन्छ तर यहाँ एकजनाले दुईदेखि तीनवटा वडा हेर्नुपर्ने बाध्यता छ । एउटै प्राविधिकले धेरै योजना हेर्नुपर्दा कामको गुणस्तरमा कमी आउने सम्भावना हुन्छ ।
इन्जिनियरले सर्भे डिजाइन, लगत इस्टिमेट, योजनाको मूल्याङ्कन, बिल फरफारक, नक्सा पास लगायतका काम गनुपर्ने हुन्छ । उहाँका अनुसार योजनाको प्रकृति अनुसार इन्जिनियरको भूमिका हुन्छ । सामान्य पर्खाल लगाउनुपर्दा धेरै समय लाग्दैन तर ढलान, पुल निर्माण जस्ता काममा इन्जिनियरको भूमिका धेरै हुन्छ ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालले कर्मचारी अपुग भयो भनेर मन्त्रालयमा जानकारी गराएका स्थानीय तहमा कर्मचारी पूर्ति गर्न लोक सेवा आयोगलाई सिफारिस गरिएको र अपुग कर्मचारी क्रमिक रूपमा पूर्ति हुँदै जाने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?