विराटनगर समाचारदाता
विराटनगर, असोज ३० गते । विराटनगर महानगरपालिकाले घरबाटै वातावरण सुधारको काम गर्ने भएको छ ।
घरबाट टोल र वडा हुँदै पूरै नगरलाई वातावरणमैत्री बनाउने अभियान केही समयभित्रै सुरु गर्ने महानगरको योजना छ । पहिलो चरणमा पाइलट परियोजनाको रूपमा केही टोलमा नमुना कार्यक्रम गर्ने तयारी भइरहेको छ ।
महानगरको योजनाअनुसार वातावरणमा प्रतिकूल प्रभाव पार्ने वस्तुको प्रयोगमा कमी ल्याउने कार्यमा प्रत्येक घरका सदस्यलाई सहभागी गराइने छ । प्लास्टिकजन्य वस्तुको प्रयोगलाई कम गर्दै लैजाने, नकुहिने फोहोरको उचित व्यवस्थापन गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट मल बनाइने, सार्वजनिक बाटोघाटो र चौरमा फोहोर नथुपार्ने जस्ता ससाना व्यवस्थापकीय काम गर्दै वातावरण सुधारमा अगाडि बढ्न खोजेको महानगरपालिकाले जनाएको छ ।
योसँगै महानगरपालिकाले नगरको सौन्दर्यीकरणमा सबै घरको अनिवार्य सहभागिता हुने गरी कार्यविधि तयार पारिरहेको छ । त्यस अन्तर्गत नमुना परियोजना सञ्चालन भएको क्षेत्रका कम्तीमा पनि ८० प्रतिशत घरले मौसम अनुसारका सकेसम्म एउटै जातका फूल गमलामा रोपेर देखिने गरी राख्नुपर्ने छ । यसले सफाइ प्रवद्र्धन गर्नुका साथै सौन्दर्यीकरणमा पनि योगदान पुग्ने महागनरका वातावरण महाशाखा प्रमुख अनिता न्यौपानेले जानकारी दिनुभयो ।
प्रत्येक घर वातावरणमैत्री भए टोल र सहर स्वतः स्वच्छ, सफा र हराभरा हुने महानगरको विश्वास छ । महानगरपालिकाले जनसहभागितामा आधारित भएर वातावरण सुधारका लागि तय गर्नुपर्ने सूचकबारे पनि छलफल अगाडि बढाएको छ ।
घरमा प्रयोग गर्ने ऊर्जाको स्रोत, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्ने तरिका, ढल व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रयोग जस्ता कुरा प्राथमिक सूचकको रूपमा रहने छन् ।
घर, टोल, सार्वजनिक क्षेत्रको सरसफाइसँगै टोलमा हरियाली प्रवद्र्धन गर्ने काम गरिने छ । त्यसका लागि वातावरण मन्त्रालयले नै निश्चित सूचक र निर्देशिका जारी गरिसकेको न्यौपानेले जानकारी दिनुभयो ।
टोलमा हरियाली प्रवद्र्धन गर्दा बाटो तथा सार्वजनिक खुला चौरमा विभिन्न प्रजातिका बिरुवा लगाउनुपर्ने, प्रत्येक घरमा सकेसम्म मौसम अनुसार एउटै प्रजातिका फूल लगाउन प्रेरित गर्ने र सौन्दर्य वृद्धि गर्ने जस्ता कार्यक्रम तय गरिने न्यौपानेले जानकारी दिनुभयो ।
प्रत्येक घरमा न्यूनतम तीनवटा रूख हुर्काउनुपर्ने र ठाउँ नभए कौसीमा समेत बिरुवा रोप्नै पर्ने गरी निर्देशिकामा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । वर्षमा दुई पटक सबैको सहभागितामा टोल सफाइ अभियान चलाउने, सार्वजनिक स्थल प्लास्टिकरहित बनाउने, बाटोमा फोहोर जम्मा नगरी सीधै सङ्कलनका लागि आउने सवारी साधनमा पुग्ने व्यवस्था मिलाउने व्यवस्था गर्न महानगरले तयारी गरिरहेको छ ।
न्यूनतम आधार पूरा भएपछि वातावरणमैत्री घर र टोल हुँदै वातावरणमैत्री महानगर घोषणा गर्ने लक्ष्य लिइएको छ । वातावरणमैत्री महानगर घोषणा गर्ने बेलासम्म सार्वजनिक स्थल र बाटोमा कुकुरको दिशासमेत नरहेको अवस्था हुनुपर्ने वातावरण मन्त्रालयको सूचकमा उल्लेख छ ।
यससँगै विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षमा जनसहभागिताका आधारमा सार्वजनिक पार्कको निर्माण र सञ्चालन गर्ने तयारी गरेको छ । सडक किनार वा बस्ती क्षेत्रका सरकारी जमिन हेरेर महानगरपालिकाका वातावरण इन्जिनियरले पार्कको नक्सा डिजाइन गर्नेछन् । सोही नक्साअनुसार विभिन्न अवसरमा तोकिएका बिरुवा सर्वसाधारणले रोप्न सक्ने र त्यसको संरक्षणका लागि समितिलाई निश्चित रकम दिनुपर्ने प्रावधान राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।