logo
२०८१ मंसिर ८ शनिवार



युवा वैज्ञानिक सम्मेलनको तयारी

खुला |




लतिलपुर, असोज ३० गते । युवा वैज्ञानिकको सीप र क्षमतालाई देश विकासमा उपयोग गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्ले संयुक्तरुपमा आउँदो कात्तिक ४ गतेदेखि तीन दिन काठमाडौँमा युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।

यस क्षेत्रमा सक्रिय देशभित्र र बाहिरका नेपाली तथा गैरनेपाली गरी तीन सय वैज्ञानिकहरू उक्त सम्मेलन सहभागी हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनीलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई टेवा पु¥याउन युवा वैज्ञानिकको सम्मेलन गर्न लागिएको पनि उहाँले बताउनुभयो । सम्मेलनको जानकारी गराउन बुधवार प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा पहिलोपटक युवा वैज्ञानिकको सम्मेलन गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकको ज्ञान, सीप, क्षमता र प्रविधिलाई देश विकासमा जोड्न सहयोग पुगोस् भन्ने सोँचका साथ सम्मलेन गर्न लागिएको जानकारी दिनुभयो ।

नेपालभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली वैज्ञानिक तथा प्राविधिक, विधागत उत्कृष्टता हासिल गरेका विदेशी वैज्ञानिक तथा प्राविधिज्ञ, नेपालमा रहेका पेशागत समूहका प्रतिनिधिलगायतको सम्मेलनमा सहभागिता रहने श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा ६५ वटा कार्यपत्र, १८ वटा विषयगत विशेष कार्यपत्र, ५० वटा तस्बिरलगायत विभिन्न प्रस्तुतिहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्याण्डबाट आठ जना र गैरआवासीय नेपालीहरुको तर्फबाट २५ जना युवा वैज्ञानिक सहभागी हुने भएका छन् ।

सम्मेलनमा मुख्य गरी स्वास्थ्य एवं औषधि, जल एवं उर्जा, खाद्य एवं कृषि, यातायात एवं पर्यटन, सूचना एवं सञ्चार प्रविधि, वातावरण, विपद् जोखिम न्यूनीकरण, मौलिक ज्ञान एवं प्रविधि, आधारभूत एवं व्यावहारिक विज्ञान, उदीयमान प्रविधि, स्वच्छ एवं हरित विज्ञान, अर्थशास्त्र तथा व्यवस्थापन, नीति तथा दर्शनशास्त्र सम्बन्धी प्रस्तुतिहरू हुनेछन् ।

सम्मलनमार्फत् युवा जनशक्तीलाई अभिप्रेरित गर्दै नीति निर्माण तथा त्यसको कार्यान्वयनका लागि मार्ग निर्देश गर्ने उद्देश्य समेत राखिएको छ । युवामा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको प्रयोगसम्बन्धी चाहना जगाउने, देश बाहिर रहेको विशिष्ट क्षमताका वैज्ञानिक, प्राविधिकलाई देश विकासमा योगदान गर्न अभिप्रेरित गर्ने लक्ष्यसमेत राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?