जनार्जन खत्री
सर्लाही, असोज ३० गते । सर्लाहीको बरहथवा नगरपालिका–१८ श्रीपुरमा विवाह मण्डप निर्माण गरिएको छ । विशेष गरी विपन्न परिवारलाई उनीहरुको सन्ततिको विवाह गराउन सहज होस् भन्ने उद्देश्यले विवाह मण्डप निर्माण गरिएको हो । प्रदेश सरकारको २५ लाख रुपियाँ लागतमा निर्माण गरिएको विवाह मण्डलको सर्लाही क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले उद्घाटन गर्नुभयो ।
स्थानीय गुठीको जग्गामा निर्मित विवाह मण्डपको उद्घाटन गर्दै प्रदेश सभा सदस्य यादवले रहर हुँदाहुँदै सीमित स्रोत साधन र ठाउँको अभावमा उल्लासपूर्ण किसिमले विवाह गर्न नपाएका विपन्न परिवारलाई विवाह मण्डप निर्माण भएपछि इच्छा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मण्डपको सही सदुपयोग र संरक्षणमा लाग्न स्थानीयवासीसँग आग्रह समेत गर्नुभयो ।
यसअघि, प्रदेश सरकारको सहयोगमा भर्खरै मात्र जिल्लाको ईश्वरपुर नगरपालिका–१५, सोकनाहमा विवाह मण्डप निर्माण गरिएको थियो । त्यहाँ पनि २५ लाख रुपियाँ लागतमै निर्माण भएको विवाह मण्डपको यही असोज १८ गते प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्घाटन गर्नुभएको थियो ।