राममणि दाहाल
हेटौँडा, असोज ३० गते । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको आदेशलाई नै निरन्तरता दिन उच्च अदालत पाटन, हेटौँडा इजलाशले आदेश दिएको छ ।चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले उच्च अदालत पाटन, हेटौँडा इजलाशमा गर्नुभएको पुनरावेदनको बिहीबार सुनुवाई गर्दै चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशले जिल्ला अदालतको आदेश यथावत राख्न आदेश दिएको हो ।
साथै लामिछाने र कँडेलले विदेश जाँदा अदालतको स्वीकृति भने लिनु नपर्ने भएको छ ।सञ्चाकर्मी लामिछानेको तर्फबाट बहश गर्नुभएका अधिवक्ता अमृत लामाले जिल्ला अदालतले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्ने भपन आदेश गरेकोमा उच्च अदालत पाटन, हेटौँडा इजलाशले विदेश जाँदा अदालतको स्वीकृती लिनु नपर्ने गरी आदेश दिएको जानकारी दिनुभयो ।
यस्तै, अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौँडाले आदेश गरेको छ ।
सञ्चाकर्मी लामिछाने र कँडेलले गत भदौ १७ गते उच्च अदालत पाटन, हेटौँडा इजलाशमा चितवन जिल्ला अदालतले गरेको आदेश चित्त बुझ्दो नभएकोले बदर गर्न माग गर्दै निवेदन दर्ता गराउनुभएको थियो ।
जिल्ला अदालत चितवनले भदौ ९ गते सञ्चारकर्मी लामिछानेलाई पाँच लाख रुपियाँ र पत्रकार युवराज कँडेललाई तीन लाख रुपियाँ धरौटीमा आदेश दिएको थियो ।
यस्तै पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोग लागेका स्टाफ नर्स अस्मिता कार्की (रुकु) लाई साधारण तारेखमा रिहा गरिएको थियो ।
लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भनी हेटौँडा इजलाशमा निवेदन दर्ता गराउनु भएको थियो ।
आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतको आदेशअनुसार शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको अभियोग लागेका लामिछानेले यसबारेमा कार्यक्रम चलाउन नपाउने भएका छन् ।
गत साउन २१ गते चितवनको भरतपुरस्थित कङ्गारु होटलमा आत्महत्या गरेका पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा लिएको थियो ।