यलु जोशी
काठमाडौं, कात्तिक १ गते । नेपालभाषा मंका खलःले कातिक ११ गते लक्ष्मीपूजा, १२ गते नेपाल संम्वत् ११४० र म्हपूजा, १३ गते भाइटीका गर्न सबै नेवार समुदायलाई आव्हान गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विक्रम संवत्को २०७६ को पात्रोमा भाइटीकाको दिनमा नेपाल सम्वत् उल्लेख गरिएको छ । खलःका सदस्य रमेशमान पियाको अनुसार नेवार समुदायमा म्हः पुजाको दिनमा नै नेपाल संम्वत् हुने भएकाले नेपाल सम्वत्को उत्सवपछि बेलुका म्हपुजा गर्ने हो ।
उहाँले भन्नुभयो, म्हः पुजा नगरी भाइटीका गर्न नहुने मान्यता भएको हुनाले १२ गते म्हः पुजा र १३ गते भाइटीका गर्ने निर्णय गरेको हो । नेपालभाषा मंका खलका नरेशवीर शाक्यले नेपाल संवत्को सुरुकालदेखि नै कछलाथ्व प्रतिपदामा म्हपूजा मनाउँदै आइरहेको बताउनुभयो ।
देवकार्य र उत्सवहरूमा सूर्योदयको समयमा विद्यमान तिथिलाई सोही दिनको तिथि मानी पर्व मनाउँदै आएको तथ्य रहेको पनि शाक्यले जानकारी दिनुभयो ।
उहाँले यसरी कछलाथ्व प्रतिपदाका दिन नववर्ष, यसको अघिल्लो दिन कौलागा औंसी (नेपाल संवत्को अन्तिम दिन) लक्ष्मीपूजा र नववर्षको भोलिपल्ट यमद्वितीयामा भाइटीका सनातनकालदेखि मनाउँदै आइरहेको बताउनुभयो ।
शाक्यका अनुसार काठमाडांैका स्वयम्भू, मच्छिन्द्रबहाल, विजेश्वरीका पुजारीहरू, काठमाडौं, पाटन र भक्तपुरका तलेजु पुजारीहरू, बज्राचार्य समूह, राजोपाध्याय समाजले सबै नेवार समुदायलाई यस्तो आग्रह गरेका छन् ।