logo
२०८१ मंसिर ९ आईतवार



नागेडाँडामा शहीद स्मारक निर्माण सुरु

खुला |





दीपक श्रेष्ठ

सुनकोसी (सिन्धुली), कात्तिक २ गते  । एक दशक लामो सशस्त्र युद्धमा एउटै परिवारका तीन दाजुभाइले बलिदानी दिएको गाउँ हो, नागेडाँडा । युद्धका क्रममा यो गाउँबाट दुई महिलासहित छ जनाले बलिदानी र सयौँ जनाले गिरफ्तारी दिएका थिए । शहीद गाउँको पर्याय पाएको सिन्धुली जिल्लाको नागेडाँडामा जनआन्दोलन, सशस्त्र युद्ध, बलिदानी र निर्माणको प्रतिबिम्बका रूपमा शहीद पार्क निर्माण थालिएको छ ।
सुनकोसी गाउँपालिका–५ नागेडाँडामा प्रदेश सरकारको करिब एक करोड रुपियाँको लागतमा शहीद स्मारक र बोटानिकल पार्क निर्माण भइरहेको छ । नागेडाँडाको टारीगाउँमा करिब दुई हेक्टर जग्गामा शहीद स्मारक र मुल्कोटमाथि बीपी राजमार्गसँग जोडिएको थुम्कोमा करिब तीन हेक्टर जग्गामा बोटानिकल पार्क निर्माण थालिएको हो । सहश्रधारा सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको स्मारक र पार्क दुवै खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टरसमेत निर्माण भइरहेको सहश्रधारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रदेश सरकारको लगानीमा डिभिजन वन कार्यालय मरिण (सिन्धुली) ले स्मारक र पार्कको योजना कार्यान्वयन गरिरहेको छ । निर्माण कार्य सामुदायिक वन उपभोक्ता समितिमार्फत भइरहेको छ ।
डिभिजन वन कार्यालय मरिणका प्रमुख लोकराज नेपालले सामुदायिक वनको घना क्षेत्र रहेको नागेडाँडाको टारीगाउँमा शहीद स्मारक र मुल्कोट नजिकको सुख्खा डाँडामा बोटानिकल पार्कको विकास गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुख्खा ठाउँ भएकाले सुनकोसीको पानी तानेर बोटानिकल गार्डेनका रूपमा हरियाली बनाउने योजना छ । बीपी राजमार्गमा आवतजावत गर्ने यात्रुले समेत पार्कमा केहीबेर सुस्ताउने मौका पाउने छन् ।’’
उहाँका अनुसार सुनकोसीबाट पानी लिफ्ट गरी बोटानिकल पार्क र शहीद स्मारक क्षेत्रमा पु¥याइने छ । स्मारक क्षेत्रमा वनभोजस्थल समेत बनाइने छ । सुनकोसीबाट लिफ्ट गरिएको पानी नागेडाँडाका स्थानीय बासिन्दालाई समेत वितरण गरिने कार्यक्रम छ ।
स्मारक र पार्क निर्माणमा प्राविधिक सहयोग गरिरहेको एक्सपर्ट ग्रुपका प्रोपाइटर सुशील पौडेलका अनुसार डाँडामा पानी रिचार्ज गर्ने पोखरी, शौचालय, वनभोज स्थलसहितको नमुना स्मारक निर्माण हुँदैछ ।
बोटानिकल पार्कमा बिरुवा लगाउने कार्यसमेत थालिएको छ । उहाँका अनुसार पार्कमा अहिले पाँच प्रजातिका बिरुवा लगाउने तयारी छ । कपुर, कल्की, काँगियो, कण्ठेपूmल, ज्याकारान्डाजस्ता अर्नामेन्टल प्लान्ट र राजवृक्षलगायत आयुर्वेदिक महìवका बिरुवासमेत लगाइने पौडेलले जानकारी दिनुभयो । गार्डेनमा नर्सरीको समेत स्थापना गरी पार्क सजावटका लागि आवश्यक बिरुवा उत्पादन गरिने जनाइएको छ ।
सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहालले सिन्धुली जिल्लाकै नमुना शहीद स्मारक र बोटानिकल पार्कको विकास निर्माणमा गाउँपालिकाले निरन्तरता दिने बताउनुभयो । उहाँले जनआन्दोलन र जनयुद्धमा बलिदानी दिएका सुनकोसीका १६ जना शहीदको शालिकसहित सिन्धुली जिल्लाका अन्य शहीदको स्मारक बनाइने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?