logo
२०८१ मंसिर ९ आईतवार



तस्करको गोदाममा प्रहरीको छापा

एकै दिनमा १३ लाखको मालसमान बरामद

खुला |


तस्करको गोदाममा प्रहरीको छापा


सन्तोष सुवेदी
सिरहा, कात्तिक २ गते । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ स्थित सीमा क्षेत्रनजिक अवैद्य रुपले भण्डारण गरिएको गोदाममा शनिवार लहान प्रहरीले छापा मारी १३ लाख रुपियाँभन्दा बढी भन्सार छलीको मालसमान बरामद गरेको छ ।

भन्सार छली गरेर ठूलो मात्रामा विभिन्न मालसमानहरु भण्डारण हुँदैछ भन्ने सूचना आएपछि लहानबाट प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोलीले उक्त मालसमान बरामद गरेको हो । प्रनाउ रिजालको टोलीले उक्त गोदामबाट १३ लाख ३६ हजार ५५८ रुपियाँ बराबरको मालसमान बरामद गरेको छ ।
बरामद गरिएको मालसमानहरुमा कपडा, जुत्ता, किराना आइटम र भाडा वर्तनलगायत छन् । नजिकिदो तिहार र छठ पर्वलाई इङ्गित गरेर लहान प्रहरीले चोरीपैठारीविरुद्ध चलाएको अभियान अन्तर्गत लहान प्रहरीले उक्त मालसमानहरु बरामद गरेको प्रनाउ रिजालले बताउनुभयो ।

बरामद गरिएको भन्सार छलीका मालसमानहरु शनिवार नै ठाडी भन्सार कार्यालयमा बुझाइएको बताइएको छ । सिरहामा तस्करको गोदाममा भण्डारण भइरहेको बखत पुगेर प्रहरीले भन्सार छलीका मालसमानहरु बरामद गरेको यो नै पहिलो पटक हो । यसअघि विभिन्न नाकावर्ती क्षेत्रहरुबाट ओसारपोसार गर्दै गरेको अवस्थामा मालसमान बरामद गरे पनि उनीहरुको गोदाममा प्रहरी पुग्न सकेको थिएन ।

यसअघि पनि लहान प्रहरीले गत विहीवार फरक फरक स्थानबाट एकै दिन चार लाख रुपियाँ बराबरको भन्सार छलीका मालसमानहरु पक्राऊ गरेको थियो । लहान प्रहरीले उक्त दिन ठाडीबाट लत्ताकपडा, सुर्ती र पटाका गरी ६६ हजार नौ सय बराबर, कबिलासीबाट १३५ केजी सुर्ती र सो सुर्ती बोकेको सिटी रिक्सा गरी तीन लाख ४७ हजार र लहानको अस्पताल चोकबाट तीस हजार ७५० रुपियाँ बराबरको विभिन्न किराना आइटमका सामान गरी चार लाख ४४ हजार ६५० रुपियाँ बराबरको मालसमान बरामद गरेको थियो ।

तस्करहरुले भण्डारण गर्ने गोदाम चेकजाँच गर्ने अधिकार आन्तरिक राजस्व कार्यालय तथा राजस्व अनुसन्धान कार्यालयको छ तर ती कार्यालयहरुले तस्करी नियन्त्रणको सवालमा गर्ने क्रियाकलापबारे स्थानीय प्रहरीसँग समन्वय नगर्दा तस्करहरुको पूर्ण जालो भत्काउन नसकिएको सिरहा प्रहरीको गुनासो रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?