logo
२०८१ मंसिर ९ आईतवार



१९ किलो चाँदीसहित एक पक्राउ

खुला |
प्रदेश |


१९ किलो चाँदीसहित एक पक्राउ


निजगढ, कात्तिक २ गते ।
बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो । भारतबाट बीआर६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताउनुभयो ।
बरामद चाँदीको बजार मूल्य करीब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ । चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
बेवारिसे पेस्तोल बरामद
बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा बेवारिसे पेस्तोल फेलापरेको छ । विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्याङकी नजिक कालो प्लाष्टिकमा बेरी ढुङ्गामुनि लुकाइछिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा १० इन्च लामो एक थान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?