गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ४ गते । तिहारको आगमनसँगै भाइ टीकाका लागि प्रयाग हुने भाइ मसला खरिद गर्नेको चहलपहल बढेको छ । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाई मसला भन्ने गरिन्छ । प्रायः सबैजसो सामग्री आयातीत हुन् ।
राजधानीको ‘मखन गल्ली’ छिर्ने कुनादेखि निस्किने ठाउँसम्म हिजोआज भाइ मसलाको बासना चल्छ । पाइलैपिच्छेका पसलहरूमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छन् । यो बजार ‘भाइ मसला’कै थोक तथा खुद्रा बिक्रीका लागि चर्चित पनि छ ।
अघिल्लो पुस्तादेखि मसला बेच्दै आएका स्थानीयवासीको पसलमा त भाइ मसला बेचिने भइगए नै । सँगसँगै कस्मेटिक, चस्मा, बेल्ट, लुगा व्यापारी पनि आफ्नो व्यापारलाई थाँती राखेर भाइ मसलाकै व्यापारमा लागेका छन् । ‘‘यतिबेला यही बिक्छ,’’ वर्षा शर्माले भन्नुभयो– ‘अन्य समय अरू सामानको व्यापार गर्नेहरूले पनि तिहारमा मसला नै बेच्ने गरेको यो वर्ष मात्र होइन, अघिल्ला वर्षहरूमा पनि त्यस्तो प्रचलन थियो । ’ लुगा व्यापारी हरिशरण अग्रवालले वर्षको एक पटक भाइ मसला बिक्री गर्ने बताउनुभयो । तिहारलाई लक्षित गरेर मसला बिक्री गरिने उहाँले बताउनुहुन्छ । कतिपय पसलमा भने तिहारको समयमा मात्र नभएर वर्षभर काजु, किसमिस, बदाम, ओखर, छोकडा, खुरपानी बेचिन्छ ।
‘‘व्यापार राम्रो पनि छ । विशेषगरी विवाह र चाडपर्वको बेलामा व्यापार फस्टाउँछ । तिहारमा त थकाई मार्न समेत फुर्सद हुँदैन’’, व्यापारी उज्ज्वल हाडाले सुनाउनुभयो । ‘‘तिहार आउनु एक हप्ता अघिदेखि भाइटीकाको दिनसम्म यस्तै हो’’, ग्राहकलाई मसला बिक्री गर्न व्यस्त हाडाले भन्नुभयो, ‘‘भाउ बढेर आयो, व्यापारमा असर गरेको छ । तर पनि दिनभरि फुर्सद हुँदैन । ’’भाइटीकाका लागि खपत हुने यी मसलाहरू एक किलो, आधा किलो, एक पाउको पोको बनाएर प्याकिङ गरिएका छन् । ‘‘बेच्नभन्दा गाह्रो प्याकिङ गर्दा हुन्छ’’, उहाँ भन्नुहुन्छ, परिवार सबैका लागि परेर तयार गर्छौं । उहाँले हरेक वर्ष १० देखि १५ लाख रुपियाँसम्म भाइ मसलामा लगानी गर्दै आएको जानकारी दिनुभयो ।
मखन गल्लीका कथा पनि अलि बेग्लै छ । धेरै वर्ष पहिले मखन गल्लीको बजारमा मसलाका पसलहरू मात्र थिए तर तिहार अघिको समयबाहेक अरू बेला मसलाको व्यापक चलहपहल नभएपछि कतिपयले लुगा, गरगहना, कस्मेटिक र अन्डर गार्मेन्टसहरू पसल पनि गर्न थाले । तर तिहारअघि भने अहिले पनि अधिकांश पसलले भाइ मसलाकै व्यापार गर्ने गरेका छन् ।
यस्तै विगत ४० वर्षदेखि मसला व्यापार गर्दै आउनुभएका भरत शाक्यले पहिले स्थानीय नेवार समुदायले मखना लगायत मसलाको व्यापार गरेकाले नाम नै मखन गल्ली भएको बताउनुभयो । ‘‘अब मखना बेच्ने स्थानीयवासी आधा मात्र छन्,’’ उहाँले थप्नुभयो । मखन गल्लीमा मसलासँगै तिहार विशेष अन्य सामग्रीको चाङ पनि देखिन्छन् । पाला, दियो, बिजुली बत्तीहरू, टोपी, रङ, फूलहरू राखिएका छन् ।