धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ४ गते । सप्तरी प्रहरीले तीन महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १८ अभियुक्तलाई पक्राउ गरेको छ ।
अदालतबाट बलात्कार, हत्या, लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, र कुटपिट लगायतका अभियोगमा सजाय भुक्तान नगरी वर्षौदेखी फरार रहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दालतबाट दोषी करार भई फरार रहेका चार र विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका १४ जना गरी १८ जनालाई तीन महिनाको अवधिमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये जबरजस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, सवारी अंगभंगका एक, सवारी ज्यानका एक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सीको आरोपमा कुटपिटका अभियुक्तहरु रहेका उहाँले जानकारी दिनुभयो ।
यसैक्रममा पछिल्लो पटक कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई आइतबार पक्राउ गरेको छ । यस्तै गत शुक्रबार २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका १२ निवासी भागवत मलहालाई पक्राउ गरेको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय राजगढ गाउँपालिका १ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डल र महादेवा गाउँपालिका १ बस्ने २० वर्षिय अताहुसेन मियाँलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमैै दोषी करार भई फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५५ वर्षीय मुगालाल महतो, ३० वर्षीय धनश्याम महतो र २२ वर्षिय श्याम महतोलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभयो ।