जयकृष्ण यादव
इनरुवा, कातिक ४ गते । सुनसरी सदरमुकाम इनरुवाका तीन युवाले थालेको सामूहिक माछा पालन व्यवसायले युवाहरुलाई आकर्षित गरेको छ । इनरुवा ५ को शारदा माविको जग्गा भाडामा लिएर करीब वर्ष दिन अगाडी सुरु गरेको माछा पालन व्यवसाय यतिबेला क्रमशः फस्टाउँदो क्रममा छ । विद्यालयको करीब पाँच विग्घा जग्गा भाडामा लिएर थालिएको माछा पालन व्यवसायबाट आम्दानी आउन थालेपछि युवा समूहले आफ्नो व्यवसायलाई थप सुदृढ र समयानुकुल बनाउन जुटेका छन् ।
इनरुवा ५ र ७ को बीचमा रहेको गडन खोला किनारमा रहेको इँटा भट्टा छेउको जग्गामा १३ वटा पोखरी खनि युवाहरुले मत्स्यपालनको सुरुवात गरेका थिए । व्यवसायबाट आम्दानी सुरु भएसँगै पोखरीको डिलमा मेवा खेती सुरु गरिएको छ ।
व्यवसाय थालेको चार महिनाको अवधिमा पहिलो लटको माछा बिक्रि गरेर युवाहरुको समूहले १५ लाख रुपियाँ बराबरको कारोबार गरेको छ । सञ्चालक रमेश कटुवालले दोस्रो लटका माछा लगाउने तयारी थालिएको जानकारी दिनुभयो । उहाँले पहिलो लटको माछा बिक्रिबाट प्राप्त आम्दानीले व्यवसाय निरन्तरतामा हौसला थपेको बताउनुभयो । उन्नत र परम्परागत जातका सबै माछा उत्पादन गर्दै आएको इनरुवा कृषि फर्ममा माछा किन्नका लागि व्यापारीहरु स्वयं पोखरी पुग्ने गरेका छन् ।
अर्का सञ्चालक भरत मेहताले माछा पालनका लागि पोखरी निर्माण सहित भुरा हाल्न र आवश्यक अन्य बन्दोवस्तीमा ४५ लाख खर्च भएको बताउनुभयो । पोखरीको डिलमा लगाइएको एक हजार दुई सय मेवाका बोट हुर्किएर फल्न थालेको छ । मेवाबाट भएको आम्दानीले व्यवसाय प्रवद्र्धनमा थप टेवा पुग्ने मेहताले विश्वास व्यक्त गर्नुभयो । स्वस्थ्य र सप्रिएका ताजा माछा पाइने भएकाले समेत माग बढ्दो क्रममा रहेको छ । सञ्चालक कटवालले आफूहरुको व्यवसाय फष्टाएको देखेर अन्य युवाहरुले पनि लगानी, प्राविधिक सहयोगबारे जिज्ञासा राखेको बताउनुहुन्छ ।
चर्चित व्यसायी राम पौडेलको समेत लगानी रहेको व्यवसायबाट हौसिएका युवाहरु आफ्नो व्यवसाय बढाउन लागिपरेका छन् । सञ्चालक कटवालका अनुसार पर्वको अवसर पारेर पोखरीको छेउमा माछा हाउस सहितको फिस चिल्लि रेष्टुरेन्ट संचालनको तयारी गरिएको छ ।
उहाँले इनरुवालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप थालिएको व्यवसाय प्रति बढ्दो विश्वास र मागका साथै आर्कषणलाई लक्षित गर्दै जिउँदो माछा आफैं मारेर किन्न सकिने व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
फिसिङको माग बढेकाले पोखरीमा बाँसको पुल बनाउने देखि रेष्टुरेन्ट संचालनमा ल्याउने तयारी गरिएको छ । कटवालले भन्नुभयो , “स्वदेशमै स्वरोजगार बन्ने प्रशस्त पाटाहरु छन्, केवल इक्षाशक्ति, काम प्रतिको लगाव र निरन्तरताको खाँचो छ ।”उहाँ थप्नुहुन्छ –विदेशमा पसिना बगाउनु भन्दा आफ्नै ठाउँमा परिश्रम गर्न सके आत्मसन्तुष्टिसँगै मनग्यै आम्दानी हात लाग्न सक्छ ।
कटवालका अनुसार पोखरीमा अहिले मुग्री, जलकपुर, रहु सहितको जातको मत्स्यपालन गरेर दैनिक थोकमा २२० रुपियाँ प्रतिकेजीमा विक्रि गरिएको छ ।