यलु जोशी
काठमाडौँ, कात्तिक ५ गते । ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवकयुवती धेरै छन् तर तिहारमा सयपत्री र मखमली फूलको मालासरह ढाकाटोपीले पनि महŒव पाउँछ ।
व्यवसायीका अनुसार तिहारअघिको अन्तिम एक साता ढाकाटोपीको व्यापार निकै राम्रो हुन्छ । जनबहालमा गत ४० वर्षदेखि ढाकाटोपी व्यापार गर्दै आउनुभएका राजेन्द्र श्रेष्ठले तिहारले ढाकाटोपीको व्यापार धेरै राम्रो हुने जानकारी दिनुभयो । पहिलेको दाँजोमा अहिले ढाकाटोपीको माग छ तर युवा वर्ग यसको महŒव बिर्संदै गएपछि ढाकाटोपी सङ्कटमा परेको हो । राष्ट्रिय पोसाकका रूपमा रहेको ढाकाटोपी तिहार र जनवरी एक तारिख (ढाकाटोपी) दिवसमा बिक्री हुने अनुभव सुनाउनुभयो ।
तिहारका बेला ढाकाटोपीको व्यापार बढेको छ भन्दै श्रेष्ठ थप्नुहुन्छ, “तिहारमा सयपत्री र मखमली फूलको मात्र होइन, ढाकाटोपीको पनि बजार राम्रो हुन्छ । ”
यस्तै २० वर्षदेखि ढाकाटोपी सिलाउने र बिक्री गर्दे आउनुभएका लक्ष्मी पालिखेले ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवती तिहारमा दाजुभाइका लागि महँगामहँगा ढाकाटोपी किन्न आउन थालेका सुनाउनुहुन्छ । “शिरमा ढाकाटोपी र गलामा फूलको माला लगाउँदा निकै आकर्षक देखिन्छ”, उहाँले थप्नुभयो, “त्यही भएर अहिले ढाकाटोपी प्राथमिकतामा पर्न थालेको हो । ”
पहिले सबैको शिरमा ढाकाटोपी देखिन्थ्यो तर अहिले त्यस्तो अवस्था नभएको भन्दै पालिखे थप्नुहुन्छ, “मेरो बुवा–बाजे सबैले ढाकाटोपी लगाउनुहुथ्यो तर अहिले मेरो छोराले नै लगाउँदैन । ” तिहार र विवाहको समयमा व्यापार ठीकै हुन्छ । त्यही समयको बिक्रीले व्यापार थामिएको छ, पालिखेले भन्नुभयो ।
शिरमा ढाकाटोपी लगाएको मान्छे निकै भलादमी देखिने भएकाले पनि यसले व्यक्तिको व्यक्तित्व झल्काउने उहाँले बताउनुभयो । त्यही भएर तिहारमा मात्र नभई अरू बेला पनि ढाकाटोपी लगाउने बानी विकास गराउनुपर्ने पालिखे सुझाउनुुहुन्छ ।
व्यवसायीका अनुुसार ढाकाटोपी सयपत्री र मखमली फूलको मालाको तुलनामा निकै महँगो हुन्छ । एउटै टोपीको न्यूनतम मूल्य १५० रुपियाँदेखि अधिकतम १० हजार रुपियाँसमेत पर्छ । ढाकाटोपी लगाउन सोखिन व्यक्तिले मूल्यसँग तुलना नगर्ने जानकारी दिँदै पालिखे थप्नुहुन्छ, “कतिपय मान्छे ढाकाटोपीको ज्यादै नै सोखिन हुन्छन् । मूल्यभन्दा पनि गुणस्तरमा ध्यान दिन्छन् । ”
आफ्ना दाजुभाइका लागि ढाकाटोपी खरिद गर्न आउनुभएका रश्मी देवकोटा भन्नुहुन्छ, “अरू बेला नलगाएपछि तिहारमा पूजा गर्दा त लगाउनुपर्छ । सस्तो मात्र लग्ने हो एक पटकका लागि हो, त्यसपछि थन्किन्छ, त्यसैले महँगो काम छैन । ”
यस्तै हरिनारायण घिमिरेले पनि आफ्ना भाइका लागि ढाकाटोपी किन्नुभयो । भाइ सरकारी जागिर भएका कारण ढाकाटोपी किनिदिएको बताउनुभयो । व्यवसायीका अनुसार तिहारबाहेक मङ्सिर, माघ, फागुन, वैशाख, जेठ, असारमा पनि ढाकाटोपीको बिक्री बढ्छ । विवाहमा बिक्री हुने टोपी तिहारको भन्दा केही सस्तो हुन्छ । पोखरा, पाल्पा, धरान, तेह्रथुमलगायतका ठाउँबाट ढाकाटोपी काठमाडौँ भित्रिन्छ ।