विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक ५ गते । झापामा विभिन्न शैली अपनाएर चोरी गर्ने र ठगि गर्ने भारतीय गिरोह सक्रिय रहेको पाईएको छ । चाडपर्वको मौका पारेर जिल्लाका अधिकांश क्षेत्रमा चोरी र ठगि कार्यमा बालबालिकाहरुको समेत प्रयोग भइरहेको छ ।
साना बालबच्चा बोकेका महिलाहरु सार्वजनिक सवारी साधनमा महिला तथा पुरुषको नजिक हुने र ब्याग तथा पर्सको पैसा चोर्ने, बालबालिकाहरुलाई च्यातिएको र शरिरमा कम लुगा लगाएर माग्न पठाउने, चोर्न सिकाउनेजस्ता क्रियाकलाप जिल्लामा बढेको छ । कतिपयले जिब्रो नै नभएको नाटक गर्दै गाँउगाँउमा गएर माग्दै हिड्ने र चोरीका लागि सूचना संकलन गर्नेसम्मका काम गर्ने गरेको बताइन्छ ।
यात्रुवाहक बसभित्रै युवतीको ब्यागबाट एक लाख चोरी गरेको आरोपमा दुई भारतीय महिला पक्राउ परेसंगै यस्ता महिलाहरु तथा पुरुषहरुलाइ सिमामा कडाइ गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापाले मातहतका प्रहरी कार्यालयहरुमा पनि निर्देशन दिएको बताएको छ । भारत पश्चिम बंगाल दार्जेलिङ जिल्ला पानीटंकी घर बताउने २५ वर्षीया पूजा गुल्ठा र सोही ठाउँकी २५ वर्षीया कविता मण्डललाइ प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका २ बस्ने ४० वर्षीया विमला रोक्का (सार्की) काँकडभिट्टाबाट बिर्तामोड आउने क्रममा लेडिज ब्यागको पैसा यि दुई महिलाले चोरेका थिए । उनिहरुसँग एक नाबालक बच्चा पनि रहेको छ । यात्रुवाहक बसबाट उत्रेर टेम्पो चढेर भाग्न खोज्दा उनिहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
दुई दिन अघि जिब्रो नभएको भन्दै गाँउमा रकम उठाएर हिड्ने एक ब्याक्तिलाई स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका थिए भने अर्का व्याक्ति भागेका थिए । कमल गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार गाँउमा बिभिन्न बहानाबाजि बनाएर माग्ने र चोर्ने समुह नै छिरेको बताउनुभयो ।
प्रहरीले यसलाइ हलुका रुपमा लिएका कारण गाँउघर चोरी तथा ठगिबाट सुरक्षित छैनन्, उहाँले भन्नुभयो । आफुहरुले यस्तै ठगलाइ इलाका प्रहरी कार्यालय दमकमा बुझाएको केहि घण्टा बित्न नपाउदै छाडिएको भन्दै उहाँले आपत्ती पनि जनाउनु भयो । हामी ठगलाइ बुझाउने र प्रहरीले छाडिदिने सुहाउदो भएको छैन, उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरिक्षक दिनेशराज मैनालीले ठगि र चोरी गर्ने समुह भारतबाट आइरहेको भन्ने सुनिएकाले सिमामा कडा गर्न आफुले सबै मातहतका कार्यालयहरुलाइ निर्देशन दिएको बताउनुभयो । पहिला छाडिएका र नयाँ त्यस्ता भेटिए सबैलाइ पक्राउ गर्न निर्देशन दिएको छु, उहाँले भन्नुभयो । चाडपर्वको मौकामा उनिहरु छिरेका हुनसक्छन् र यसमा कडाइ हुन्छ, उहाँको भनाई छ ।