logo
२०८१ मंसिर ९ आईतवार



माटोको दियो बनाउने चटारो

खुला |


माटोको दियो बनाउने चटारो



यलु जोशी

भक्तपुर, कात्तिक ७ गते । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित ‘कुमाले टोल’मा माटाको भाँडा बनाउने कामको चटारो छ । प्रायः सबै व्यस्त देखिन्छन् ।
तिहारले गर्दा पाला (दियो)को माग दोब्बर बढेको छ । बोल्नसमेत फुर्सद छैन । मागअनुसार माटाका भाँडा पु¥याउन नसकेर तनाव छ । भक्तपुर दरबार स्क्वायरका रामभक्त प्रजापति बिहान उठेदेखि साँझसम्म माटोको दियो बनाउन व्यस्त रहनुहुन्छ ।
कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थालेका हुन् । दियो बनाउँदैमा फुर्सद नपाउने ६५ वर्षीय प्रजापतिले अरू बेला त्यति बिक्री नहुने दियो तिहारका लागि धेरै बिक्री हुने बताउनुभयो । उहाँ माटोको भाँडो आफैँ बनाएर बेच्नुहुन्छ । माटाका भाडा बनाउँदै गर्दा प्रजापतिले भन्नुभयो, “यही बेला हो माग बढ्ने भाँडाका । त्यसैले धेरै खट्नुपर्छ । अरू बेला त आरामले गर्दा नि हुन्छ । ”
पुख्र्यौली पेसा माटोको भाँडा बनाउने जानकारी दिँदै उहाँले आठ वर्षदेखि यही काम गर्दै आउनुभएको जानकारी दिनुभयो । माटाको भाँडा बनाउने काम सजिलो छैन भन्दै प्रजापतिले थप्नुभयो, “बस्ती बाक्लिएका कारण माटो सजिलै पाइन्न । बिहान झिसमिसैमा उठ्नुपर्छ । उठेदेखि राति अबेरसम्म कामको चटारो हुन्छ । कमाउने बेला नै यही हो मेहनत त गर्नै प¥यो । ”
यस्तै न्हुच्छेबहादुर प्रजापतिले पनि विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै गर्नुभएको उहाँले भन्नुभयो, “यो बेला त परिवारका सबै खट्नुपर्छ । ” विगत सम्झँदै प्रजापतिले थप्नुभयो, “दिनमा दुई हजारदेखि २५ सय पाला बनाउने गरिन्थ्यो तर अहिले हजारभन्दा बढी बनाउन सक्दिनँ । माटोको काम परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न ।
उहाँको परिवार सबैले यही काम गर्छन् । परिवार नै नलागी पाला बनाउन सम्भव पनि छैन, प्रजापतिले आफ्ना अनुभव सुनाउँदै परिवारको चार जना सदस्य सबै यही काममा व्यस्त छन् । तिहारको समयमा दैनिक पाँच हजार रुपियाँसम्म आम्दानी गर्न सक्ने बताउँदै स्टक (भण्डारण) छ भने कमाइ बढ्ने बताउनुभयो । उहाँले खुद्रा तथा होलसेल दुवै ग्राहक भएको प्रस्ट पार्दै भन्नुहुन्छ, “यहीँबाट आएको आम्दानीले घर चलाउने हो, तिहार मनाउने हो । ”
पहिलेको जस्तो माग छैन, अहिले प्रजापतिको गुनासो छ, पहिला माटाको गाग्रो, घ्याम्पालगायतका ठूला साइजका भाँडा किन्ने मान्छे आउँथे अचेल आउँदैनन् । प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो । पाला (दियो) पनि बिक्री हुने तिहारको बेला मात्रै हो । अरू बेला गमला र खुत्रुके अनि माटाका मूर्तिहरू बिक्री हुन्छन् । प्रजापतिले सुनाउनुभयो, “पाला मात्र हो पहिलाभन्दा धेरै जाने । ”
लक्ष्मीपूजासम्म दियो बनाउँछौँ, तिहार त साँझ मनाए भइहाल्यो नि ! कक्षा १२ मा अध्ययनरत विकेश प्रजापतिले भन्नुभयो । विकेश पनि दियो बनाउने काममा सक्रिय हुनुहुन्छ । उहाँले यस वर्ष तिहारका लागि २५ हजार जति दियो बनाइने बताउनुभयो ।
स्थानीय कृष्णमाया प्रजापतिले भन्नुभयो, “सिजनमा त हो नि काम गर्ने पछि यसको महìव कम हुन्छ । ”
प्रजापतिले पुर्खादेखि काम गर्दै आएको हुनाले आफूले पनि विगत १० वर्षदेखि माटोको काम गरेको बताउनुभयो । उहाँले बिजुलीबाट चक्र घुमाइने भएकाले काम छिटो हुन थालेको जानकारी दिनुभयो । सामान्य चक्रमा दैनिक पाँचदेखि एक हजार दियो बनाउन सकिने तर
बिजुलीबाट चक्र चलाउँदा भने दुई हजारभन्दा बढी बनाउन सकिने जानकारी दिनुभयो ।
त्यस्तै भक्तपुर सिर्जनानगरका रञ्जित प्रजापति पनि तिहारका लागि अरू भाँडा बनाउन छोडेर माटोको दियो मात्र बनाउन व्यस्त हुनुहुन्छ । विगत १५ वर्षदेखि माटोको भाँडा बनाउने पेसामा लाग्नुभएका रञ्जितले तिहारका लागि २५ देखि ४० हजार रुपियाँसम्मको दियो बिक्री हुने बताउनुभयो ।
उहाँले तिहारका लागि दुई महिनाअघिदेखि नै दियो बनाउन सुरु गर्नुभएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोराछोरी सबैजना दशैँअघिदेखि नै दियो बनाउने काममा व्यस्त छन् । दियो जति बनाए पनि बिक्री गर्न समस्या छैन । ”
बिजुलीको झिलिमिलीले भने व्यापारमा कुनै घाटा नहुने व्यवसायीहरूको भनाइ छ । प्रजापति भन्नुहुन्छ, “अहिले भिलिमिली बत्तीका साथै माटोको दियो पनि त्यत्तिकै प्रयोग गरिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?