logo
२०८१ मंसिर ९ आईतवार



हुलाकी लोकमार्गको पीडा : पुल एकातिर खोलो अर्कोतिर

खुला |


हुलाकी लोकमार्गको पीडा : पुल एकातिर खोलो अर्कोतिर



सन्तोष सुवेदी
सिरहा, कात्तिक ७ गते । करिब २० वर्ष अगाडि हुलाकी लोकमार्गको सिरहा खण्डको औरही पूर्व गागन खोलामा सडक डिभिजनले पुल बनाएपछि त्यस भेगका स्थानीयबासीको खुशीको सीमा नै थिएन ।
विभिन्न कामले सिरहा सदरमुकाम जान र आउन पनि हुलाकी लोकमार्गवरपरका बासिन्दा आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पुर्व पश्चिम लोकमार्ग छिचोल्नुपर्ने बाध्यता थियो । त्यस भेगका बासिन्दालाई हुलाकी लोकमार्गदेखि उत्तर पुर्व पश्चिम लोकमार्ग र पुनः पूर्वपश्चिम लोकमार्गको चोहर्वा खण्डदेखि १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्दा दिनभरीको समय खर्चिनुपथ्र्यो तर स्थानीयबासीले त्यो दुःख गागनमा पुल बनेपछि सहजै बिर्से ।
उनीहरुको त्यो खुशी धेरै वर्ष टिकेन । निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएपछि त्यहाँदेखि खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट अर्को बाटो बनायो । अर्को बाटो बनाएर खोला बगेदेखि नै उनीहरूको दुख फेरि दोहोरियो । भत्किएको बाँध पुनर्निर्माण नगरेपछि दक्षिणी सिरहाबासीले बिगत १० वर्षदेखि पहिलेकै नियतीमा फर्कनुपरेको छ । अहिले पहिलेको खोलामा पानी बग्न छोडेको छ, त्यहाँको सुख्खा नदीमा पुल छ तर बाटो फेरेको खोलामा बाह्रै महिना पानी बग्छ । झन बाढीको समयमा दुई महिनासम्म त्यहाँका बासिन्दालाई वर र पर गर्न गा¥हो हुन्छ ।
हुलाकी लोकमार्गको औरही खण्डमा गागनले बनाएको ती दुई वटै खोलो सामरिक हिसाबले निकै महत्वपूर्ण छन् । औरहीदेखि सात किलोमिटर पश्चिम सिरहाको सदरमुकाम छ भने औरहीदेखि दुई किलोमिटर पुर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी छ । उक्त खोलामाथि पुल बनेको वा भत्किएको बाँध पुनर्निमाण भएको अवस्थामा हुलाकी लोकमार्गको पूर्व भगवानपुर र ठाडी बजारदेखि पश्चिम सिरहा सदरमुकामको ४२ किलोमिटरको दुरी एक घण्टाको समयमा ओहोरदोहोर गर्न सकिन्छ ।
‘यस क्षेत्रबाट गएका साँसदहरू मन्त्रीदेखि ठूल्ठूला ओहोदामा पुगे तर कसैले पनि हाम्रो पीडामा ध्यान पु¥याएनन्’, औरही गाउँपालिका–२ का ६५ वर्षीय सत्यदेव यादवले भन्नुभयो–कतिपटक हामीले नेताहरूलाई कि त भत्किएको बाँध पुनर्निमाण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्यौ, कसैले हाम्रो कुरा सुनेनन् ।
हुन पनि हो, गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि औरही र बरियारपट्टी लगायतको गाउँहरुबाट मत पाई नेपाली काङ्ग्रेसबाट वर्तमान केन्द्रिय कोषाध्यक्ष सीतादेवी यादव, पुर्व कोषाध्यक्ष चित्रलेखा यादव मन्त्री भइसक्नुभएको छ । त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका सुरेशचन्द्र दास यादव अहिले प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ भने प्रदेशसभा सदस्य विजय यादव प्रदेश नं. २ का आर्थिक मामिला मन्त्री हुनुहुन्छ ।
‘उहाँहरुले चाहेमा यो खोलाले दिएको दुख हरेर जानेमा शङ्का छैन’, औरही गाउँपालिका–५ निवासी हरि कामतीले दुखेसो पोख्नुभयोे–‘देशैलाई हेर्न सक्ने क्षमता भएका नेताहरूले खै किन होला हाम्रो यो दुखलाई हेर्न भ्याउनुभएको छैन ?’ कामतीले भत्किएको खोलाको बाँध पुनर्निमाण गरेर पुल वरपरको बालुवा सफा गरे खोला फेरि पुर्ववत फर्किन सक्ने संभावना रहेको बताउनुभयो।
औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ दास यादवले हुलाकी लोकमार्ग भएर बग्ने सबै खोलानालाको एकै पटक लागेको ठेक्कामा यो खोलामाथिको पुल पनि परेको जानकारी दिनुभयो । ‘सबैतिरको खोलानालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने सुरु भएको छैन’, गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो–हुलाकी लोकमार्गमा कालोपत्रे र पुल तथा कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिएको छ तर हाम्रो गाउँपालिका अन्तर्गतको कामकारबाहीबारे जानकारी हामीलाई दिइएको छैन ।
बाढीको समयमा बाँसको झोलुङ्गे पुल (चचरी)
वर्षाको समयमा खोलाको नयाँ बाटोमा उग्र बाढी आएपछि खोला पूरै भरिभराउ भएर त्यहाँ तरिसक्नु हुँदैन । त्यो समयमा एउटै गाउँपालिकाका बासिन्दालाई यतादेखि उता आउन जान धौंधौं पर्छ । बाढीको समयमा पर्ने त्यस्तो समस्यालाई टार्न खोलावारीकै एउटा कामती परिवारले पछिल्लो केही वर्षदेखि गज्जबको उपाय अपनाएका छन् ।
त्यो उपाय हो खोलामाथि निर्माण गरिएको बाँसको झोलुङ्गे पुल जसलाई स्थानीय भाषामा ‘चचरी’ भन्ने गरिन्छ । हुलाकी सडक छेउमा होटल पसल गर्ने ती कामती परिवारलाई खोला पारी रहेको आफ्नै घर जान जब समस्या प¥यो तब तिनीहरुले त्यो उपाय अपनाए ।
‘तीन वर्ष अगाडि हाम्रो परिवारले यो खोलामा ९० हजार रुपियाँको लागतमा चचरी बनाएका हौं’ कामती परिवारका मुली हरि कामतीले भन्नुभयो–‘एकै सिजनमा यो चचरीले तीन वटा बाढी खेप्ने गरेको छ, यो चचरीले हामीलाई मात्र होइन दैनिक हजारौको सँख्यामा ओहोरदोहोर गर्ने यात्रुलाई सजिलो बनाएको छ ।’
‘चचरी बनाउँदा त कसैले सहयोग गरेनन् तर हामीले बनाएको चचरीले पैदल यात्रुलाई मात्र होइन, मोटरसाइकल र साइकलयात्रुलाई पनि सहयोग गरेको छ’, उहाँले भन्नुभयो–‘मोटरसाइकल र साइकल ओहोरदोहोर गर्दा भने हामीले लिएको सेवा शुल्कले नै अहिले यो चचरीको वर्सेनि मरम्मतलाई टार्दै आएको छ ।’ उहाँले बाढीको समयमा मोटरसाइकलयात्रीबाट ३०–५० रुपियाँ र साइकलयात्रीबाट पाँच रुपियाँ लिने गरेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?