विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक ८ गते । नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण स्थलको निर्माण दु्रत तवरबाट हुने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले त्यसका लागि पार्कको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्रै तयार हुने जानकारी दिनुभएको छ ।
प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले पार्क निर्माण स्थलको बुधबार साँझ स्थलगत अवलोकनपछि स्थानीयसँगको छलफलका क्रममा उहाँले उक्त जानकारी दिनुभएको हो । जग्गाको व्यवस्थापन तथा वस्तुस्थिति बुझ्न प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहितको टोलीले प्रस्तावित क्षेत्रमा छलफल गरेको हो ।
स्थानीयले औद्योगिक पार्क बन्ने भनेर हल्ला धेरैपटक भएको तर काम सुरु नभएको भन्दै कहिलेदेखि काम सुरु हुने भनेर प्रश्न गरेका थिए । उनीहरूले आफूहरूले काम चाँडो होस् भनेर जग्गा उपलब्ध गराएको जनाउँदै निर्माणको काम तत्काल सुरु गर्न आग्रह गरे । अब यहीँ काम पाइएला भनेर हामीले छोरोछोरी र दाजुभाइलाई विदेश काममा नपठाई राखेका छौँ, गौरादहका पूर्ण चेम्जोङले भन्नुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यो सानोतिनो योजना नभएकाले रातारात सम्भव नभएको भन्दै केही महिनामै काम सुरु हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले स्थानीयको उत्साह र समर्थन देखेर आफू उत्साहित भएको बताउनुभयो ।
अधिकारीले प्रारम्भिक चरणका लागि करिब ६५ अर्ब लगानी स्वीकृत भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्रमा तयार पारेर दिन्छौँ भन्ने आश्वासन पाएको जानकारी दिनुभयो ।
लगानी बोर्डका कानुन शाखा प्रमुख राजु गुरागाईंका अनुसार अब यहाँ लगानी गर्न र पार्क बनाउन कुनै कानुनी अड्चन नदेखिएको बताउनुभयो ।
दुई हजार बिघा जग्गा व्यवस्थापन
सुरुमा दमक नगरपालिकामा औद्योगिक पार्क बन्ने भनिए तापनि जग्गा व्यवस्थापन नभएकाले हाल कमल गाउँपालिका र गौरादह नगरपालिकामा जग्गाको व्यवस्थापन भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतका अनुसार औद्योगिक पार्कका लागि जग्गाको अभाव छैन ।
विभिन्न व्यक्तिको नाममा रहेको एक हजार ७५० बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र २५० बिघाजति जमिन सरकारी जग्गा रहेकाले झन्डै दुई हजार बिघा जमिन व्यवस्थापन भएको उहाँले बताउनुभयो । स्थानीयले उत्साहपूर्वक मुआब्जा लिएको र यो प्रक्रिया जारी रहेको बस्नेतले बताउनुभयो ।
धान थन्क्याएपछि काम सुरु हुने
नेपाल–चीनमैत्री औद्योगिक पार्कका अध्यक्ष थापाले स्थानीयस्तरमा कुनै समस्या नरहेको जनाउँदै तत्कालै काम सु्रु हुने बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन आउनुअघि जग्गाको व्यवस्थापनसहित सीमा निर्धारण गरेर निर्माणको काम गर्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ । अहिले किसानले खेतमा धान लगाउनु भएकाले यो काटेपछि यहाँ काम अघि बढ्छ, उहाँले भन्नुभयो ।
यस क्षेत्रको विकासका लागि स्थानीयले देखाएको उत्साहलाई मर्न नदिनका लागि आफूहरूले छिटो काम गर्नेसमेत उहाँले बताउनुभयो । जसले जग्गा उपलब्ध गराउनुभएको छ । उहाँहरूको यो आशालाई निराशामा पुग्न दिँदैनौँ, थापाले भन्नुभयो ।
तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा पार्क बन्ने छ । थापाका अनुसार केही दिनअघि मात्र यहाँ औद्योगिक पार्क निर्माणको काम सुरु गर्ने विषयको समझदारीपत्रमा समेत हस्ताक्षर भइसकेको उहाँले बताउनुभयो ।