logo
२०८१ मंसिर ८ शनिवार



साढे तीन लाखको पटका नष्ट

खुला |


साढे तीन लाखको पटका नष्ट


धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ८ गते । सप्तरी प्रहरीले वार्षिक कार्य योजनालाई सफल पार्न अभियान सुरु गरिएको छ । यसै अभियान अन्तर्गत पछिल्लो पाँच दिनयता सप्तरीको विभिन्न नाकाबाट बरामद गरिएको तीन लाख ४८ हजार रुपियाँ बराबरको प्रज्वलनशील पटका शुक्रबार नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार बिहानै पत्रकार सम्मेलन गरी सो जानकारी दिदैँ प्रहरी कार्यालय परिसरभित्र खाल्टोमा पटकाजन्य पदार्थ हालेर नष्ट गरिएको हो । प्रहरीले बोदेबरसाइन नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, र हनुमाननगर कंकालीनी नगरपालिका क्षेत्रबाट पटका बरामद गरिएको बताइएको छ ।

एक वर्षे कार्य योजनाको अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले भारतीय बजारबाट खरिद गरी अवैध तरिकाले ल्याउँदै गरेको अवस्थामा ती पटकाहरु बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

यसअवधिमा प्रहरीले विभिन्न ब्राण्डका पटका, फुलझारी, चिरचिरी, रकेट, चक्कर, रकेट फूल, बिग फ्लावर बम, बुलेट बम, सुपर बम, चक्लेट बम, बिजुली पटका, ठूलो सानो बम, रकेट बम, आलु बम, मेजिकल कलर बम, नागिन बारुद लगायतको प्रज्वलनशील पटका जन्यपदार्थ बरामद गरी नष्ट गरिएको हो ।

प्रहरीले बोदेबरसाइन नगरपालिका ५ शत्रुघन चोकबाट रु. १५ हजार, वार्ड नं. ९ देउरीबाट रु. एक लाख ५० हजार, तिलाठी कोइलाडी गाउँपालिका १ बेलहीबाट रु. १५ हजार, वार्ड नं. ५ बनरझुलाबाट रु. १० हजार, राजविराज नगरपालिका ४ नेता चोकबाट रु. एक लाख ५० हजार, छिन्नमस्ता गाउँपालिका ४ लालापट्टिबाट रु. चार हजार, हनुमाननगर कंकालीनी नगरपालिका १ भारदहबाट रु. चार हजार गरी रु. तीन लाख ४८ हजारको प्रज्वलनशील पटकाजन्य पदार्थ बरामद गरिएको थियो । गत असोज ३० गतेदेखि कात्तिक ७ गते सम्म ती पटकाहरु बरामद गरिएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?