सर्लाही, कात्तिक ८ गते । सर्लाही सदरमुकाम मलङ्गवामा नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–४, पानी ट्याङकीस्थित सडक छेउको नालामा डुबेर नितेश रायका दुई वर्षीय छोरा अनिश रायको मृत्यु भएको हो । खेल्ने क्रममा नालामा डुबेका बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सडक निर्माणका क्रममा जथाभावी खनिएको नालामा जमेको पानीमा डुबेर सर्लाहीमा स–साना बालबालिकाको मृत्यु भइरहेको छ । केही साता अघि पर्सा गाउँपालिकाको सङ्ग्रामपुर गाउँमा सडक बनाउँदा खनिएको नाला बेवारिसे अवस्थामा छाडिँदा एक बालकको डुबेर मृत्यु भएको थियो ।
यसैबीच गोडैता नगरपालिका–९ बकैनिया चोकमा ट्याक्टरको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् । ना २ त ६७४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा बाटोमा खेलिरहेका लाल महमदका नौ वर्षीय छोरा नसरुदिन महमद घाईते भएका हुन् । घाईते बालकलाई जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर प्रहरी चौकी गोडैताको नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।