प्रा.डा. सुरेन्द्रबहादुर कटुवाल
सेलरोटी नेपालीको अति लोकप्रिय, पवित्र र स्वदेशी खानेकुरा हो । चामलको पिठो, घ्यू, चिनी मिसाई पानीले लेसिलो तताएको घ्यू÷तेलमा गोलाकार पारेर पकाइएको रोटीलाई सेलरोटी भनिन्छ । सेलरोटी सबै जातजाति, धर्म, संस्कृति तथा जुनसुकै ठाउँ र चाडपर्वमा केटाकेटीदेखि बूढाबूढीसम्म सबैले रुचाउने गर्छन् ।
सेलरोटीको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन नभए पनि परम्परागत रूपमा धेरै पहिलेदेखि नै सेलरोटी पकाउने प्रचलन रहिआएको देखिन्छ । स्वस्थानी व्रतकथा, पुराणमा समेत सेलरोटीका बारेमा उल्लेख गरिएको छ । लिखित दस्तावेज नभए पनि सेलरोटी बनाउने तरिका, प्रचलन आदिका बारे मौखिक रूपमै एक पुस्ताबाट अर्को पुस्ता, एक ठाउँबाट अर्को ठाउँमा जानकारी हस्तान्तरण हुँदै छ । स्थान विशेषले सेलरोटीको आकार र मिठासमा भने केही भिन्नता पाइन्छ ।
सेलरोटीलाई संस्कृतमा संस्कुली भनिन्छ । जसको अर्थ रोटी भन्ने हो । धेरै पहिले नेपालको हिमाली क्षेत्रमा सालीधान (धानको एक प्रकार) फल्दथ्यो । जसको चामलको पिठोबाट पकाइएको रोटीको नाम सेलरोटी रहन गएको हो वा सेलरोटी पकाउँदा घ्यू, चिनी मिसाएर पानीमा मुछेको गिलो पिठोलाई तातो तेलमा हाल्ने कार्यलाई स्यल्ल भन्ने शब्दबाट सेलरोटी नामकरण भएको वा घुमाएर गोलाकार पकाएको रोटीको नाम सेलरोटी रहन गएको भन्ने खालका किंवदन्ती छन् । केटाकेटीले सेलरोटीलाई च्वाइँपापा पनि भन्छन् ।
सेलरोटी पकाउन दावनसहित मुछेको पिठो तातेको तेलमा गोलाकार पर्ने गरी हालेपछि त्यसलाई सही आकारमा ल्याउन, फर्काउन र तेल तारेर झिक्न फलाम वा बाँसबाट बनेको झिर वा सुइरो, जसलाई सिल भन्ने गरिन्छ, त्यसबाट सेलरोटी नाम रहेको भन्ने किंवदन्ती पनि छ ।
सेलरोटीको अध्ययनको क्रममा अनुसन्धानबाट प्राप्त जानकारी अनुसार सेलरोटीलाई लिम्बू भाषामा सेला, धिमाल भाषामा सेली, मगर भाषामा रोटी, थारू भाषामा घुरियालो वा घुर्मालो भन्ने गरिन्छ । केही लिम्बूले रोटीलाई सेला भन्छन् र त्यसैबाट सेलरोटी नाम रहन गएको भन्ने कुरा पनि छ । केही मगरका अनुसार धानको चामलको पिठोबाट बनेको गोलाकार रोटीलाई मगर भाषामा रोटी भनिन्छ, जसबाट सेलरोटी नाम रहन गएको भन्ने छ ।
राईहरूको भनाइमा छोरा मान्छेको विवाहपश्चात् पहिलोपटक ससुराली जाँदा १२ कोरी (२४० वटा) सेलरोटी अनिवार्य रूपमा लाने चलन छ भने लिम्बूहरूमा विवाहका लागि कुरा छिन्न जाँदा केटा पक्षबाट रक्सी र सेलरोटी केटीको पक्षमा राखिन्छ । जुन केटी पक्षबाट स्वीकार गरियो भने विवाहका लागि पक्का भएको मानिन्छ ।
नेपालको पश्चिम तराईमा बस्ने थारू समुदायमा फागु पूर्णिमा वा होली पर्वमा सेलरोटी पकाएर टपरामा राखी टपराले नै छोपी शुद्ध पानीले भरेको लोहोटामाथि रातभर राखिन्छ र भोलिपल्ट बिहान हेर्दा पानी जतिको त्यति छ भने आउँदो वर्ष राम्रो वर्षात् हुने, बालीनाली राम्रो हुने वा सहकाल हुनेछ भन्ने मानिन्छ तर लोहोटाको पानी सुक्यो वा घट््यो भने आउँदो वर्ष सुक्खा, खडेरी पर्ने वा अनिकाल पर्न सक्ने वा राम्रो नहुने अनुमान लगाउने गरिन्छ ।
सेलरोटी गाउँखाने कथा वा दन्त्यकथासँग पनि जोडिएको छ जस्तै ः “सेतो गाई पानी खान गयो पानी खाएर आउँदा रातो भयो”, के हो ?
एक जना मानिस ससुरालीमा घरभित्र सासूले पकाएका सेलरोटी बाहिर बसेर गनेर ठूलो ज्योतिष भई राजाबाट आधा राज्य समेत प्राप्त गरेको दन्त्यकथामा समेत सेलरोटी जोडिएको पाइन्छ ।
सेलरोटी दशैँतिहारमा तथा अन्य समयमा पनि कोसेलीका रूपमा छोरीबुहारी घरमाइत जाँदा, माघे
सङ्क्रान्ति, थारूको माघी, होली तथा सिरुवा पर्वमा आवश्यक ठान्ने गरिएको छ । न्वारान, छेवर, व्रतबन्ध, विवाहदेखि मानिसको मृत्युपश्चात्को बर्खी, श्राद्धमा नैवेद्यका रूपमा समेत सेलरोटीको विशिष्ट महìव रहिआएको छ ।
धार्मिक कार्य पुराण, सत्यनारायणको पूजा, स्वस्थानी पूजा, सरस्वती पूजा आदिमा पनि सेलरोटी चढाइन्छ । धान रोपाइँको मैजारोपछि सेलरोटी पकाएर खाने चलन छ ।
साथै पाहुनालाई खुवाउन तथा अन्य समयमा पनि नेपालीले सेलरोटी पकाउँछन् । घरको कुनै सदस्य टाढा वा विदेश जान लाग्यो भने सेलरोटी खुवाएर पठाउने चलन छ ।
अचेल त हाटबजार, मेला, विभिन्न रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर आदिमा पनि सेलरोटी बिक्री गर्ने गरिन्छ । कतिपय लाहुरेका परिवारले हङकङ, सिङ्गापुर आदि ठाउँमा आफन्तहरू कहाँ सेलरोटी पठाउने पनि गर्छन् ।
अहिले त देशका ठूला शहरमा कतिपय महिलाले सेलरोटी पकाएर बेच्ने व्यवसाय सञ्चालन गरेको पाइन्छ । जन्मदेखि मृत्युपछिका संस्कारसम्मका कार्यविधिका लागि सेलरोटी आवश्यक पर्ने भए पनि यसका बारेमा खासै खोज÷अनुसन्धान भएको देखिँदैन ।
सेलरोटी शक्तिवद्र्धक खानेकुरा हो । यसमा चिल्लो पदार्थ, कार्बोहाइड्रेड, भिटामिन र खनिज तत्व पाइन्छ । यसमा चिल्लो र गुलियो पदार्थको मात्र अलि बढी हुन्छ । जुन स्वादका लागि आवश्यक छ । प्रशोधित भटमासको तेलमा पकाएको सेलरोटीमा ओमेगा–३ र ६ फ्याटी एसिडको आवश्यक मात्रा हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक पनि छ तर प्रोटिन, कच्चा फाइबर, फलाम तत्व, क्याल्सियम आदि कम हुन्छ । ती तत्व सेलरोटीमा समावेश गर्न सके स्वास्थ्यका लागि यो अत्यन्त हितकारी हुन सक्छ ।
सेलरोटी बनाउन चाहिने कच्चा पदार्थ ः
सेलरोटी बनाउन चाहिने कच्चा पदार्थ दुई भागमा बाँड्न सकिन्छ
(क) अनिवार्य ।
(ख) ऐच्छिक ।
अनिवार्य कच्चा पदार्थ :
चामल, घ्यू, चिनी तेल र पानी ।
चामल : विभिन्न स्थानमा पाइने मोटा धान जस्तै कान्छी मन्सुली, राधा–१२, जेठो बूढो, अट्टे तौली, टाइचिन चामल प्रयोग गरिन्छ । सेलरोटी पकाउन पुरानो चामलको राम्रो हुन्छ ।
घ्यू : राम्रो आलो घ्यू दाउनको रूपमा प्रयोग गरिन्छ । घ्यूको सट्टामा नौनी छानी पनि प्रयोग गर्न सकिन्छ । घ्यूले रोटीलाई फुलाउने, नरम बनाउने र सुगन्धित बनाउने काम गर्छ ।
चिनी : चिनीलाई स्वादका लागि प्रयोग गरिन्छ । साथै चिनीले रोटीको राम्रो रङ र सुगन्ध पनि दिन्छ । चिनी नभए खुदो, सक्खर पनि प्रयोग गर्न सकिन्छ ।
तेल : भटमासको प्रशोधित तेल सेलरोटी पकाउन प्रयोग गरिन्छ । अन्य तेल पनि प्रयोग गर्न सकिन्छ । पूजामा र नैवेद्यको रूपमा प्रयोग गर्न सेलरोटी घ्यूमा पकाइन्छ ।
पानी : सफा पानी आवश्यकतानुसार प्रयोग गरिन्छ । कतिपयले घरमा खानका लागि पानीको सट्टा दूधको प्रयोग गर्छन् ।
ऐच्छिक कच्चा पदार्थ :
सेलरोटीलाई फूलाउन, नरम बनाउन, सुगन्धित पार्न विभिन्न पदार्थ प्रयोग गरिन्छ । जस्तै ः काउलो, गोगुन, चिप्लेको बोक्राको धूलो, उदालको चोप, मेथी, खाने कपुर, सिलाम, नरिवल, खानेसोडा आदि इच्छानुसार प्रयोग गर्न सकिन्छ । खानेसोडा स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सेलरोटी बनाउन प्रयोग गरिने सामग्रीः
१. स्टिलको आरी
२. नाङ्लो÷चाल्नो ः चामल केलाउन र पिठो छान्न ।
३. ढिकी, ओख्ली, खलबच्चा, मिल (इलेक्ट्रिक ग्राइन्डर) ।
४. फलामको ताई ।
५. झिर वा बाँसको सिन्को ।
६. डाडु वा त्यस्तै अन्य वस्तु ।
७. स्टिल वा सिल्वरको ठूलो थाल ।
८. आरी, तपेस वा डेक्ची, डालो, थुन्से ।
९. दाउरा (खह्रो, राम्रो ताप दिने), ग्यास चुल्हो, स्टोभ आदि ।
बनाउने तरिका :
१. मोटो पुरानो धानको चामल सफा गर्ने ।
२. चामललाई सफा पानीमा डुब्नेगरी गर्मीको समयमा कम्तीमा दुई घण्टा र ठन्डीको समयमा ८ देखि १२ घण्टा भिजाउने ।
३. चामलबाट पानी त¥याउने र ओबाउन दिने ।
४. चामलको मात्रा हेरी ढिकी, ओख्ली वा खलबच्चामा कुटेर ठिक्क कण आकार भएको पिठो बनाउने । कतिपयले धेरै चामल भएमा मिलमा र थोरै भए इलेक्ट्रिक ग्राइन्डरमा पनि पिठो कुट्ने गर्छन् । ठिक्कको पिठो बनाउन चाल्ने÷नाङ्लो प्रयोग गर्न सकिन्छ ।
५. पिठोमा घ्यू, चिनी मिसाउने र राम्ररी माड्ने (मडाई राम्रोसँग भएको पिठोबाट राम्रो सेलरोटी बन्दछ) ।
६. आवश्यकतानुसार सफा पानी हालेर मुछ्ने र कम्तीमा एक घण्टा रहन दिने ।
७. ताइमा तेल वा घ्यू हाल्ने र तताउने । २१० डिग्री सेन्टिग्रेड तापक्रम पुगेपछि (थर्मामिटर नभए झिरको टुप्पो मुछेको पिठोमा चोपेर तातेको तेलमा डुबाउँदा झ्वाइँया आवाज आयो भने तेल तातेको मानिन्छ) ।
पिठो हातले वा डाडु वा अन्य वस्तुको सहयोगबाट तातेको तेलमा गोलाकार हाल्ने । झिर वा सिन्कोको सहायताले राम्रो आकारमा ल्याउने र पाक्न दिने । तल्लो भाग पाकेपछि झिरको सहायताले फर्काउने र राम्ररी पाक्न दिने (करिब ३३ सेकेण्ड लाग्छ) ।
८. राम्ररी पाकेपछि झिरको सहायताले सेलरोटी उचाल्ने र तेल त¥याउने र थाल÷आरीमा राख्ने ।
सेलरोटी राम्रो हुन गुणस्तरीय सामग्री, सही तरिकाले प्रशोधन हुनै पर्दछ भने सेलरोटी बनाउनु एक कला पनि हो ।
प्रा.डा. सुरेन्द्रबहादुर कटुवाल खाद्य प्रविधि र पोषण विषयका अवकाश प्राप्त प्राध्यापक हुनुहुन्छ ।
युवामञ्च कात्तिक २०७६