logo
२०८१ मंसिर ९ आईतवार



तिहार: आदरभाव र स्नेहले भरिपूर्ण पर्व

खुला |


तिहार: आदरभाव र स्नेहले भरिपूर्ण पर्व


डा. गोविन्द टण्डन संस्कृतिविद्

दशैँको रमझम सकिएलगत्तै उल्लास र उज्यालोको पर्व तिहार आएको छ।  कोजाग्रत पूर्णिमाको झन्डै दुई हप्तापछि यो पर्वको आगमन हुन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महìव छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घरघरमा दीप बालेर सजाइने हुनाले अचेल यो पर्वलाई दीपावली नामबाट पनि सम्बोधन गरिन्छ । तिहारको रौनकता र महìव पशुपक्षीदेखि दाजुभाइ, दिदीबहिनीबीच एकआपसमा तथा आफूले आफैँलाई ‘म्हपूजा’ को रूपमा आत्मसम्मान गर्नुमा पनि छ । यो फूलैफूलले घरबारी, बगैँचा र आँगन मात्र होइन दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर माला लगाइदिएर आशीर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व पनि हो । तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक पर्दैन । यस पर्वमा के केटाकेटी, के वृद्धवृद्धा, सबैजसो फलफूल र थरीथरीका मिठाईमा रमाएका हुन्छन् । सेल, अनर्साजस्ता परम्परागत मिठाईहरू घरघरमा बनाएर ताजा खाने परम्परा नेपालमा प्रचलनमा छ । अझ लक्ष्मी पूजाको दिन घरमै बनाएका विभिन्न प्रकारका मिठाई एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन छ । सक्नेले आफैँले बनाउँछन् नसक्ने वा नजान्नेले जान्ने मानिस ल्याएर पनि बनाउने चलन छ ।


तिहारको पहिलो दिन कागको पूजा गरी उसलाई दुना, बोहोतामा दालभात, तरकारीसहितका पकवानहरू कागलाई खान दिने चलन छ । कागलाई किन पूजा गरेको होला ?, जो कोहीको मनमा आउने प्रश्न हो यो । हामी अनभिज्ञ छैनौँ पहिलेको जमानामा अहिलेको जस्तो सजिलो र अत्याधुनिक सञ्चार सेवा थिएन । आकाशवाणी नामको सञ्चार सेवा सुरु भएको पनि त निकै पछि हो । त्यस्तो बेला हाम्रा पूर्वज टाढा गएका आफन्तहरूको सुखदुःखसम्बन्धी हालखबर कसरी पाउँथे होलान् ? विश्वासकै त कुरा हो त्यसबेला उनीहरू घरछेउमा आएर कुनै रुखमाथि बसेर कागले का का गरी कराएको बोलीको अन्दाजमा परदेशमा बसेको आफन्तको सुखदुःखको अड्कल गर्दथे ।
यसैले घर आँगनछेउ आएको कागलाई ‘सुबोल सुबोल भलो भलो समाचार ले’ भन्दै घरमा भएका मीठो÷चोखो जे खानेकुरा छ त्यो दिने चलन थियो । कागको बसाइ, बोलीको शैली, हाउभाउले उनीहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे आफन्त नआउञ्जेलसम्म । अचेल यस्ता कुरालाई रुढिवादी र अन्धविश्वास भनिन्छ । यस्ता चलन विस्तारै हराउँदै जान थालेका छन् । त्यसो भए पनि कागलाई वर्षमा एक दिन सम्झिने प्रचलन अझै छ । कागले कतिपय रोगका कारक तìव मानिएका फोहोरलाई आफूले खाएर वरपरको वातावरण सफा, सुग्घर तुल्याइदिन्छ र मानिसको भलो गरिरहेको हुन्छ ।
त्यसैको पनि सम्झना हो काग तिहार । यस अर्थमा काग त हाम्रो हितैषी हो । उसले जस्तो छिटो, छरितोसँग सम्झँदै पनि घिन लाग्ने फोहोर मानिसले सफा गर्न सक्दैन । उसले गर्ने कार्यप्रतिको कृतज्ञता हो काग तिहार ।
तिहारको पहिलो दिन कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हः पूजा एवं तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरी तिहार हामीबाट बिदा हुन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको पनि आफ्नै प्रकारको आख्यान छन् । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई असमयमै नडाकून् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ प्रकारान्तरले ।
तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । आफ्नो घरमा कुकुर छैन भने पनि छिमेकीकहाँ गएर वा सडकछेउको कुकुरलाई डाकेर टीका, माला र खानेकुरा दिने चलन छ । यमलोकका द्वारमा बस्ने र भैरवका वाहन पनि भएकाले कुकुर पुजेको मानिन्छ । सामाजिक एवं व्यावहारिक दृष्टिकोणले हेर्दा कुकुर भनेको घर, कार्यालयको रखवारी गर्ने संरक्षक एवं इमानदारीको पनि जाज्वल्यमान प्रतिरूप हो भन्दा फरक पर्दैन ।
कुकुरले मालिकलाई गर्ने सेवाका अनेक आख्यान र यथार्थता विद्यमान छन् । अझ आपद्, विपद् परेको बखत, प्राकृतिक विपद्का बेला जहाँ मानिसको पहुँच हुँदैन, त्यस्तो ठाउँमा खतरा मोलेर कैयन मानिसलाई प्राणरक्षा गरिरहेको हुन्छ कुकुरले । यसैले कुकुरलाई माया गर्नुपर्छ, हेला गर्न हुन्न भनेर हाम्रै संस्कृतिले सम्झाइरहेको छ ।
कुकुर तिहारको एक दिन उसलाई पूजा गरेर मात्र हुँदैन । अरू बेला पनि कुकुरलाई माया, स्नेह दिनुपर्छ भन्ने कुराको सङ्केत हो कुकुर तिहार । कुकुर पूजाकै दिनदेखि यम दीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

दाजुभाइ र दिदीबहिनीबीचको आदरभाव र स्नेहभावको अनुपम पर्व पनि हो तिहार । दुवैले आपसमा श्रद्धा, भक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर आपसमा आयु, आरोग्य, दीर्घायु होस्, रोगव्याधीले दुःख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ ।
दाजुभाइ र दिदीबहिनीबीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको अत्यन्त ठूलो भूमिका छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई गच्छेअनुसारको कटुस, ओखरलगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभ मात्र होइन छैन भने हुन्छ । धेरै दाजुभाइ भाइटीकामा दिदीबहिनी आउलान् र निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् । कतिको पर्खाइ काम लाग्छ, कति त्यसबेला भक्कानिन्छन् जब दिदीबहिनी आउन नसकेर निधार खाली हुन्छ । आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र ? काठमाडौँका दिदीबहिनीले आ–आफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शन, पुजन गर्ने गर्छन् । अचेल केही दिदीबहिनीले ठाउँठाउँमा सामूहिक भाइटीकाको वातावरण सिर्जना गरेका छन् । हनुमानढोका नजिकको काष्ठमण्डपबाट एक÷डेढ दशक पहिले सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीलाई प्रेरित गरेको छ । त्यस दिन दिदीबहिनी नभएका दाजुभाइ त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याइनभ्याई गरिरहेको दृश्य पनि हृदयस्पर्शी हुन्छ ।
तिहारको अर्को रौनकता भनेको दीपावली र देउसी–भैलो हो । घरघर, मठ, मन्दिर र ठूल्ठूला भवन र कार्यालयमा रङ्गीविरङ्गी बत्तीले झिलिमिली पारी आँगन सजाउने चलनले तिहारमा वातावरण नै मनमोहक बनेको हुन्छ । पहिलेपहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल हालेर बालेको दियोबत्ती घरआँगन, चोटाभरि ठाउँठाउँमा लहरै बाल्ने चलन थियो ।
अचेल गाउँघरमा कहीँ कतै केही मात्रामा पालाको चलन भए पनि लहरे बिजुलीका स–साना चिमको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता पाइरहेको छ । बजार र सहरी क्षेत्रको यस बेलाको झिलिमिली हेर्नलायक हुन्छ ।
काठमाडौँ खाल्डो त एक किसिमले भन्ने हो भने रङ्गीविरङ्गी बत्तीले धपक्कै हुन्छ । कतै स्वर्गकै एक टुक्रा यता आएको त होइन भन्ने भान पर्छ । अझ त्यो दृश्य हेर्न शिवपुरी डाँडा, चन्द्रागिरि डाँडा, फूलचोकी, कपन डाँडा जान पाइयो र त्यहाँबाट देखिने सुन्दरता साँच्चै अलौकिक नै हुन्छ ।
चौथो दिन गाई पूजा गर्ने प्रचलन छ । यसलाई गोवर्धन पूजा पनि भन्छन् । उहिलेउहिले मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई छन् त्यसबाट अड्कल काटिन्थ्यो । दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन थियो । गाईबस्तुलाई ‘गोधन’ भनिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । गाईबस्तुले जति सम्मान पाउनुपथ्र्याे त्योबाट समाज विचलित हुँदै गएको छ ।
गाई पूजाका दिन गोवर्धन पर्वत तथा बलि राजाको पनि पूजा हुन्छ । गोवर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ । गोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप गोवर्धन पर्वतको पूजा हुन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिङ्गारेर गोवर्धन पूजा गरिन्छ । त्यसैगरी भगवान् विष्णुका परम भक्त इन्द्र शत्रु राजा बलिको पूजा गरेर लक्ष्मीलाई खुसी तुल्याइन्छ । यस दिन गोरुको पनि पूजा गर्ने चलन छ । समयको अन्तरालमा विस्तारै सम्पत्ति भनेको अरू धन, दौलत आउन थाले । एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन छ अर्काेतिर गाईको दूध, दही, घ्यू, गहुँत, गोबरसमेतको शास्त्रीय महìव र मान्यताका कारण पनि गाईलाई नेपाली संस्कृतिमा ठूलो स्थान दिइएको छ ।
गाईलाई गरेको सेवाले वैतरणी नदी तर्न सहयोग पु¥याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ । धार्मिक, वैज्ञानिक एवं आयर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घ्यू, महिको ठूलो महìव छ । त्यत्ति मात्र होइन गोबर र गौतसमेत उच्चकोटीको
प्राङ्गारिक मलको रूपमा प्रसिद्ध छ । यसैले हाम्रो संस्कृतिमा गाई पुजनलाई स्थान दिइयो तर पुजनले मात्र पुग्दैन गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्ने सङ्केत संस्कृतले दिइरहेको कुरालाई बुझ्न सकेनौँ भने हामी पछि पर्छौं ।
तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ । बाहिर मात्र उज्यालो ल्याउने र बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले सङ्केत गरिरहेको हुन्छ । लक्ष्मी पूजाका दिनदेखि घरघरमा दीपावली गरी झिलिमिली बनाउने परम्परा पनि अचेल तिहार सुरु हुनुभन्दा दुई÷चार दिनअघिदेखि नै गर्न थालिएको छ, पहिलेपहिले लक्ष्मी पूजालाई केन्द्रमा राखी गरिन्थ्यो । तिहारमा गरिने लक्ष्मी पूजा रात्रिको समयमा हुने हुनाले ‘सुखरात्रि’ को नामबाट पनि जानिन्छ । रात्रि हुने पूजामा मोहरात्रि, नवरात्रि, सुखरात्रि र शिवरात्रिको आ–आफ्नै महìव र उपादेयता नेपाली संस्कृतिमा रहेको छ ।
प्राकृतिक रूपमै पनि सयपत्री, मखमली र गोदावरीजस्ता आकर्षक फूलहरू फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै दिव्य र मनमोहक बनेको हुन्छ । वन, जङ्गल पनि हरियो, त्यसमाथि जङ्गली फूलहरूले शोभायमान बनाएको हेर्दै आनन्ददायक हुन्छ । तिहार फूलहरूको पर्व भएकाले हरेक घरको मूलढोकामा सजाइने फूलहरूको माला र सयपत्री फूलका मालाको सजावटले घरको रूपरङ्गै अनुपम देखिन्छ ।
तिहारमा गरिने पशुपक्षीको पूजादेखि दीपावली, दाजुभाइ, दिदीबहिनीबीचको स्नेहभावलाई हेर्दा विश्वमै नभएको संस्कृति हामीकहाँ अझै जीवन्त छ भन्नुपर्छ । यसमा जानी नजानी रहलपहल भएका विकृतिलाई हटाउने, घटाउने र संस्कृति पक्षको मूल विषयवस्तुलाई कसरी हुन्छ संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य सबैको हुन सके अनेकताबीचको एकतालाई, वैभिन्नताबीचको सौहार्दतालाई उजागर गरेर अझ जीवन्त र सशक्त बनाउन सकिने कुरालाई हामी नेपाली जहाँ छौँ त्यहीँबाट जोडबल लगाउनुपर्ने आवश्यकतालाई चाहिँ कतै भुल्न हुने अवस्था छैन ।
लक्ष्मी पूजाका दिनमा भैलो र गोवर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । पहिलेपहिले भैलो महिलाले र देउसी पुरुषले खेल्ने गरिन्थ्यो । अचेल यो बिर्सेजस्तो छ, महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् । त्यसबेला भट्याइने गाथाहरू थरीथरीका हुन्छन् । देउसी र भैलीकै लागि केटाकेटीले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र घरघरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् ।
घरघरमा जाँदा पहिलेपहिले त घरमा तयार भएको मेवामिष्ठान्न र दक्षिणास्वरूपको रकम नाङ्लोमा हालेर घरधनीले आफैँले दिने चलन थियो । कोही राम्रा देउसे, भैलो समूह आए घरभरिका सदस्य उनीहरूले प्रस्तुत गर्ने गाथा आँगनमा रमाइलो मानेर सुन्थे । अचेल त
भट्याउने गाथा पनि नभएको जस्तो हुन थालेको छ । झन्डै ९८ प्रतिशत समूह त आउन पाएको छैन जान हतार भइसकेको हुन्छ । घरमा छिरेको हुँदैनन् ‘दिने भए सिधा देऊ नदिने भए बिदा देऊ’ भनेर भट्याउन थाल्छन् ।
देउसी र भैलोको दक्षिणा सङ्कलनबाट ठाउँठाउँमा अनेकौँ किसिमका सामाजिक महìवका कार्य जस्तो विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटी, पौवालगायत बनाइन्छ । उल्लेख्य सामाजिक कार्यहरू गर्ने संस्थाहरूलाई त्यसै रकमबाट सहयोग गर्ने नवीन किसिमका सोचाइले पनि काम भइराखेको देख्न पाइन्छ । यस्ता कार्यलाई हामीले सराहना गर्नैपर्छ ।
लक्ष्मी पूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने मान्यता
रहिआएको छ ।
घरघरमा गएर भट्याएर कुनै गाथाको प्रस्तुति गर्ने प्रचलन विश्वमा पाइन्न । अमेरिकामा चाहिँ अक्टोबर ३१ को दिन मनाइने ‘हलोइन’ पर्वको दिन स–साना केटाकेटी भूत, प्रेतको कल्पनास्वरूपका अनेकथरी विकृत अनुहारका मुकुन्डो र त्यस्तै किसिमको लुगा लगाएर छिमेकीका घरमा गई ढोकाबाटै ‘ट्रिक अर ट्रिट’ भनी अर्थात् ‘कुनै ट्रिक देखाऊ कि हामीलाई ट्रिट गर्नुहुन्छ’ भनी सोध्छन् । केटाकेटीले त्यसो भन्दा जे घरधनीले भन्छन् त्यही गर्ने चलन छ ।
युवामञ्च कात्तिक २०७६ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?