logo
२०८१ मंसिर ९ आईतवार

  सन्दर्भः महाकवि देवकोटाको जन्मजयन्ति 



यात्री कविता रचनास्थल गुर्जुधारा संरक्षणको पर्खाइमा

खुला |


यात्री कविता रचनास्थल गुर्जुधारा संरक्षणको पर्खाइमा


राममणि दाहाल
हेटौँडा, कात्तिक १० गते ।

‘कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ?
फर्क हे फर्क
जाऊ समाऊ मानिसहरूको पाउ ।’

यी सुन्दर, मर्मस्पर्सी र कालजयी कविता नगुन गुनगुनाउने, नसुन्ने र यो कविताले नछुने सायदै विरलै होलान ।
तर महाकवि लक्षमीप्रसाद देवकोटाले यो कविता रचना गरेको स्थल यतिखेर लगभग बेवारिशे अवस्थामा रहेको छ ।
मकवानपुरको थाहा नगरपालिका ९ चितलाङथिस्त ऐतिहासिक महत्वको गुर्जुधारा । कुनै समयमा राजधानी प्रवेश गर्ने नाका चितलाङ भएर ओहोरदोहोर गर्नेका लागि यो धारामा पानी पिउने र सुस्ताउने स्थल रहेको थियो ।
सडक मार्ग निर्माणपछि ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल चितलाङ ओझेलमा परेसँगै गुर्जूधारापनि संरक्षणको खोजीमा छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता यही धाराको पर्खालमा बसेर रचना गर्नु भएको हो ।
ऐतिहासिक महत्वको धाराको कहीँ कतैबाट संस्थागतरुपमा संरक्षण भएको छैन, व्यक्तिगत र स्थानीयले सामान्यरुपमा संरक्षण गर्दै आएको स्थानीय बुद्धरत्न मानन्धरले जानकारी दिनुभयो ।
सहर बजार र सदरमुकाममा लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीलगायतका अन्य अवसर पारेर सम्झना गरिन्छ, योगदानको बारेमा चर्चा गरिन्छ, कविता वाचन हुन्छन्, तर यो ऐतिहासिकस्थलमा पुग्ने र यसको संरक्षणमा कसैको ध्यान गएको देखिदैन ।
महाकवि देवकोटा आवतजावत गर्नेक्रममा चितलाङस्थित यहीँ गुर्जुधारा धारा छेउमा सुस्ताएर बस्दा मारवाडीलगायतका मोटाघाटाहरु काठमाडौँ जानका लागि उकालो लाग्दै गर्दा कोही हिडेर स्याँ–स्याँ गर्दै जाने, हुने खानेहरु घोडामा त कोही आठ जना लगाएर बोकाइने तामादानमा चढेर जाने गरेको देख्नुभयो ।
महाकवि देवकोटामा जिज्ञाशा आयो किन यसरी जाँदै छन् दुःख र सास्ती खेपेर । महाकवि देवकोटाको कहाँ जान लागेको भन्ने प्रश्न ? पशुपतिनाथको मन्दिर दशर्न गर्न जाँदै गरेको बताएपछि यात्री कविता रचना गर्नु भएको हो भनिन्छः स्थानीय समाजसेवी मानन्धरले भन्नुभयो ।
पूर्व प्राधानाध्यापकसमेत रहनु भएका मानन्धरको अगुवाइमा ऐतिहासिकस्थललाई संरक्षण गर्न भेला बोलाउने तयारी गरिए पनि चाडपर्वका कारण नजुटेपछि चाडपर्व सकिएलगत्तै भेला बोलाएर गुर्जुधाराको संरक्षण थालिने भएको छ ।
गुर्जुधाराको संरक्षणसँगै धारा वरपर ढुङ्गा छाप्ने, यात्री चौतारी निर्माण र शिलालेख राखेर नेपाली साहित्यक्षेत्रमा महाकवि देवकोटाले पु¥याउनु भएको योगदनालाई चिरस्थायी बनाउने योजना बनाइएको छ ।
देवकोटाको नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटा संरक्षण समिति निर्माण गरेर गुर्जुधारा नजिकै लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक निर्माण गर्ने सोच बनाएका छौ, मानन्धरले भन्नुभयो, आठ–नौ लाख रुपियाँ लाग्ने अनुमान छ ।
२०५२ सालताका महाकविका परिवारले चन्द्रगिरिमा वृक्षरोपणसँगै यात्री कविता लेखिएको बोर्ड राख्नु भएको थियो । तर सशस्त्र सङ्घर्ष सुरु भएसँगै बोर्ड चोरी भएको छ भने वृक्षरोपण गरेको स्थल बेवारिशे बनेको छ ।
महाकवि देवकोटाका परिवारले पुनः चितलाङ क्षेत्रमा बोर्डसहित सहयोग गर्ने बताएको समाजसेवी मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, महाकवि देवकोटा साहित्य सम्मेलनलगायतका कार्यक्रममा राजधानी बाहिर जाँदा आउँदा चितलाङको बाटो भएर जाने र गुर्जुधारामा नै स्नान गरी कयौँ रचना सिर्जना गर्नु भएको थियो ।
अन्य राजमार्ग निर्माण पूर्व चितलाङ–चन्द्रगिरि मार्ग भएर तत्कालीन, राजा, महाराजा, राजनीतिक नेता, व्यापारी, कुटनीतिज्ञलगायतका सर्वसाधारण आवतजावत गर्ने र आयात निर्यात गर्ने र सवारी साधन बोकाएर लैजाने मार्गको रुपमा रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?