राममणि दाहाल
हेटौँडा, कात्तिक १० गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा रहेको कपास तथा फोम आगलागी भएको छ ।
स्थानीय विनोद ढकालले भाडामा दिएको दुई सटरसहितको चार कोठे गोदाम घरमा आइतबार साँझ आगलागी भएको हो ।
आगलागीबाट गोदाममा रहेको अधिकांश कपास र फोममा क्षति पुगेको छ ।
गोदाममा रहेको कपास र फोम रामविश्वास यादव र पाश्वत दासको रहेको जनाइएको छ ।
आगो नियन्त्रणमा लिन दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मी एवं स्थानीय लागेका छन् । घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको टोली समेत पुगेको छ ।
साँझ करिव ७ वजेको समयमा आगलागी भएको र नियन्त्रणमा लिने क्रम जारी रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
आगलागीपछि उद्योगका संचालक मध्येका यादव अचेत भएको उपचारका लागि अस्पताल लगिएको छ । आगलागी नियन्त्रणमा लिन समस्या भएपछि गोदाममा रहेको कपास निकाल्न जेसिवी प्रयोगमा ल्याइएको छ ।
आगलागी नियनत्रणमा लिन सेना र प्रहरीले गोदाम घरमा रहेका सटर निकालेपनि पर्याप्त पानीको अभावमा आगलागी नियन्त्रणमा लिन समस्या भएको छ । आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल प्रभावी नभएको पानी ल्याउन धेरै समय लगाएको भन्दै स्थानीयले आक्रोश जनाएका व्यक्त गरेका छन् ।