गोकर्ण दयाल
बैतडी, कात्तिक १३ गते । प्रसूति केन्द्रमा रक्तश्राव रोक्ने औषधि नहुँदा छटपटाई रहेकी बैतडीकी सुत्केरी धाना साउदलाई होलिकोप्टरबाट उद्धार गरिएको छ ।
साउदलाई मंगरबार बेलुकी ४ः २० बजे राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर अस्पताल पुर्याईएको हो । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २४ वर्षीया सुत्केरी धाना साउद स्थानीय थलाकाँडा स्वास्थ्य चौकीमा मंगलवार विहान सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको थियो ।
प्रसूतिकेन्द्रमा सुत्केरी गराउने अनमी पार्वती बोहराका अनुसार स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने आक्सोटिन नामको औषधि थिएन । भएको औषधि पनि म्याद नाघेको थियो । अस्पताल लैजान स्वास्थ्य संस्थामा स्ट्रेचर पनि थिएन ।
सुत्केरीको शरीरबाट एक बाटाभन्दा रगत बगिसकेको थियो । दुई वटा क्म्मल र तीन वटा धोती भिजिसकेका थिए । स्वास्थ्य संस्थामा भएको कपास समेत सकिएपछि अनमी पार्वती बोहरा समेत अत्तिन थालेपछि स्थानीय सुरेन्द्र साउदले बैतडीका संचारकर्मीलाई खबर गरेका थिए ।
घटना बारे विहान ११ बजे सुदूर पश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट, सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, बैतडीका प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पताल बैतडी र संघ तथा प्रदेश सभा सदस्यहरुसम्म खबर पुगेपछि सुत्केरी धाना साउदलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
स्वास्थ्य संस्थामा सुत्केरीको रक्तश्राव रोक्ने औषधि नभएको र बोकेर अस्पताल लैजान स्ट्रचर समेत नभएको खबर आएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो ।
डा.अवस्थीले भन्नुभयो, ‘ स्थानीय तहमा पर्याप्त बजेट गए पनि स्वास्थ्य क्षेत्रप्रति स्थानीय सरकार संवेदनशीन बनेको देखिएन । भाइ टिकाको दिन विदा थियो । सुत्केरी बचाउन चारैतिर फोन गरेर सुर्खेटबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्धार गर्न सफल भयौं । ’
भनेको बेला सधैं हेलिकोप्टर नै आउला भन्ने निश्चित नभएकोले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सुत्केरीका लागि चाहिने आवश्यक औषधि र स्ट्रचरको व्यवस्था गर्नु पर्ने डा. अवस्थीले बताउनुभयो ।
सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पठाउन तिहारको दिन निकै मेहनत गर्नु परेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
उद्धार गरेर कोलपुर पुर्याएकी सुत्केरीको उपचारपछि अवस्था समान्य रहेको साथमै रहनु भएकी अनमी पार्वती बोहराले बताउनुभयो । बोहराले भन्नुभयो, - १० हजार जतिको औषधि खर्चभएको छ । सुत्केरी खतरामुक्त हुनुभएको छ ।