काठमाडौं, कात्तिक १४ गते । महिला, वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग लैंगिक हिंसा न्यूनिकरणका विषयमा छलफल गर्नुहुने भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको वर्ष २०७६ को अभियानमा मन्त्री थापाले हरेक कार्यक्रममा सहभागी रहेर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्नुहुने उहाँको प्रेस सल्लाहकार गगनशिला खड्काले जानकारी दिनुभएको हो ।
कात्तिक १८ गते १ नम्बर प्रदेशबाट शुरु हुने छलफल सातवटै प्रदेशमा सञ्चालन हुनेछ । छलफलमा मुख्यमन्त्री, प्रदेश सांसदहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनु हुनेछ ।
गत जेठ ६ गते मन्त्रिपरिषद्ले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा ‘लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६’ घोषणा गर्नुभएको थियो ।
घोषणापछि मन्त्री थापाले हिंसा न्यूनिकरणका विषयमा सातवटै प्रदेशमा सामाजिक विकास मन्त्रीहरु तथा सातवटै प्रदेशका उपसभामुखहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।