सुरेन्द्र खत्री
रुकुम (पश्चिम), कात्तिक १५ गते । ४८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महिलालाई फरक फरक मितिमा दुईपटक बलात्कार गरेर उल्टै चारलाख रुपियाँ माग गरेको भन्दै प्रहरीले जिल्लाको चौरजहारी नगरपालिका –२ विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्दलाई पक्राउ गरेको हो ।
बलात्कार आरोपित चन्दले पीडित महिलालाई गत असोज १९ गते र कात्तिक ८ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्दले पहिलोपटक बलात्कारपछि कसैलाई भनेमा मार्ने धम्की दिएकाले सहेर बसेको र फेरि दोस्रो पटक पनि कोही नभएको मौका छोपी बलात्कार गरेर उल्टै पीडित महिलाबाट चारलाख रुपियाँ माग गरेको पीडितको भनाइ छ । चारलाख रुपियाँ नदिएमा समाजमा आफ्नो बेइज्जत गर्ने धम्की दिएपछि आफू मानसिक रुपले समेत पीडित बनेर आत्महत्याका लागि भेरी नदीमा जाँदै गर्दा श्रीमान्ले भेटाएर फर्काएको प्रहरीले जनाएको छ ।
त्यसपछि श्रीमान्लाई सबै कुरा भनेर प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । आरोपित चन्द विरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको उहाँको भनाइ छ ।