भउचप्रसाद यादव
काठमाडौँ, कात्तिक १६ गते । आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री छठी (षष्ठी)को उपासना तथा आराधना गरी मनाइने महान् चाड छठ बिहीबारदेखि सुरु भएको छ । षष्ठी (शनिबार)का दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरुआत र सप्तमी (आइतबार)का दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुन्छ ।
परम्परागत रूपमा तराईमा केन्द्रित छठ यताका वर्षमा काठमाडौँ उपत्यकामा पनि उत्साहजनक रूपमा विस्तार भएको छ । धनी, गरिब, मधेसी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा छठ पर्व लोकप्रिय बन्दै गएको छ ।
वीरगञ्ज घर भई विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली–नेपालीबीचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ ।
विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरका रूपमा मनाइने यो पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको छ । पूर्वीय सभ्यतामाथि पाश्चात्य सभ्यताको आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको व्रतालु र श्रद्धालु वृद्धि हुनुले महìव बढ्दै गएको उहाँको धारणा छ ।
छठ पूजाका लागि राजधानी काठमाडौँस्थित कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । कमलपोखरी छठ पूजा समाजका महासचिव राजकुमार जैनले सो मन्दिर थर्माकोलबाट बनाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार छठी पर्वको पूजा आराधनाका लागि कमलपोखरीमा शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत आउनुहुनेछ । यहाँ तीन सयभन्दा बढी व्रतालुले पूजा अर्चनाका लागि स्थान लिइसकेको जानकारीसमेत उहाँले दिनुभयो । स्थान लिइसकेकाहरूलाई स्थान नम्बर उपलब्ध गराइएको छ, सोही स्थानमा आएर सम्बन्धित व्रतालुले बस्ने उहाँले बताउनुभयो ।
यसैगरी पशुपतिस्थित गुह्येश्वरी र बाग्मती–मनोहरा दोभानमा समेत विगत वर्षझँै यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । छठ पूजा समिति गुह्येश्वरीका सदस्य राजकुमार पोदारले सो स्थानमा छठको पूजा अर्चनाका लागि ६७२ जनाले स्थान लिइसकेको जानकारी दिनुभयो । हरेक वर्ष व्रतालुको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्रतालुहरूमध्ये ३५ प्रतिशत पहाडी समुदाय छन् ।
त्यसैगरी राजधानीको नक्सालस्थित नागपोखरीमा समेत यो वर्ष पहिलोपटक छठ पर्व आयोजना गरिएको छ । छठ पूजा मूल समारोह समितिका संयोजक किशोरी महतोले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न तथा शान्ति, भाइचारा र सद्भाव कायम गर्न नागपोखरीमा पहिलोपटक छठ पर्व आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार एक सयभन्दा बढी व्रतालुले छठको पूजा आराधनाका लागि स्थान लिइसकेका छन् ।
छठ पूजा सेवा समाज, ललितपुर सानेपाका अध्यक्ष राकेश मेहताले यस स्थानमा छठको पूजा अर्चनाका लागि पहाडी समुदायका २० जनासहित १८० जना व्रतालुले स्थान लिइसकेको जानकारी दिनुभयो । सो स्थानमा व्रतालुका लागि पोखरीसमेत निर्माण गरिएको उहाँले बताउनुभयो ।
विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्रायः आ–आफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा नै केही वर्षदेखि यो पर्व मनाउँदै आएका छन् ।
विराटनगर घर भई अहिले राजधानीको बालाजुमा बस्दै आउनुभएका प्रभन्स ठाकुर चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुहुन्छ । त्यस्तै भारतको बिहार (सीतामढी) घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका शङ्कर तिवारी आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ ।
एक ठाउँको चाडपर्व अर्को ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ । कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ, संस्कृतिविद् डा. रामदयाल राकेश । सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलोपटक छठ पर्व गरेको उहाँ बताउनुहुन्छ ।
महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुहुन्छ । त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ । त्यसैगरी सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । साम्बपुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडत श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यसबेलादेखि नै छठ पर्वको प्रारम्भ भएको कति(पयको विश्वास छ ।
त्यस्तै कुष्ठरोगबाट नै पीडित कवि मयुर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ । संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबोलोनका निवासीहरूले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई ‘अपोलो’का रूपमा पूजाआजा गर्ने गरिन्छ । जापानीहरू ‘इजानागी’ र ‘इजानामी’लाई आदि पुरुष र आदि नारीका रूपमा मान्ने गर्दछन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्दछन् । त्यसैगरी मिश्र सभ्यतामा ‘एटम’ अथवा ‘रे’ भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।
व्रतालु रोशनी साहका अनुसार यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन व्रतालुले स्नान ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्दछन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि नै विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।
उहाँका अनुसार दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्दछन् । छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादका रूपमा पठाइने गरिन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसार लगायतका परिकारहरू तेल–घ्यूमा पकाइन्छ । तयार पारिएका परिकारहरू, पाँचथरिका मिठाई, उखु, अदुवा, नरिवल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकुमेल लगायतका प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । अघ्र्य दिएपछि व्रतालुहरू घर फर्कन्छन् ।
कतिपय व्रतालुहरू घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्रम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।
जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको धारणा समाजसेवी रामशरण शुक्लाको छ ।
प्रदेश २ मा आइतबार बिदा
प्रदेश २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छठ पर्व शनिबार र आइतबार समेत मनाउने गरिएको हुनाले आइतबारसमेत प्रदेशमा बिदा दिइएको जानकारी दिनुभयो । यसअघि सङ्घीय सरकारले छठ पर्वको पहिलो दिन हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।