नवराज कट्टेल
विराटनगर, कार्तिक १६ गते । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ व्रतालुको रुपमा दण्डवत् प्रणामयात्रा गर्नुभएको छ । परम्परागत रुपमासर्वसाधारणले आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै घस्रिएर गरिने दण्डवत् प्रणाम यात्रामा मेयर पराजुली समेत सामेल हुनुभएको हो ।
अस्ताउँदो सूर्यको साँझमा हुने उपसनाका लागि मेयर पराजुलीले शनिबार बिहान १० बजेर ३० मिनेटदेखि दण्डवत् गर्दै प्रणामयात्रा सुरु गर्नुभएको छ । विराटनगर–३ शिव पञ्चायन मन्दिर ३.५ किलोमिटर दण्डवत् यात्रा तय गरि साँझमा सिंघिया घाटमा सुर्यको उपसना गर्ने कार्यक्रम रहेको छ ।
मेयर पराजुलीको यो १६ औं पटकको दण्डवत् प्रणामयात्रा हो । यसवर्ष पराजुलीसँगै उहाँकी धर्मपत्नि रञ्जीता र भतिजा प्रमेश पराजुली समेत साथमा रहनुभएको छ । मेयर पराजुलीको यात्रा हेर्नेको घुँइचो समेत सडकमा लागेको छ ।
छठ निराहर ब्रत बसेर दण्डवत् प्रणाम गर्दै जलासयसम्म यात्रा गर्दा सोचेको मनोकांक्षा पूरा हुने मान्यता छ । पराजुलीले महानगरको शान्ति र समृद्धिको कामना गर्दै आफूले छतको व्रत बसेको बताउनु भएको छ ।
छठका लागि विराटनगरका खोला, पोखरी र नहरहरूलाई विशेष रूपले सजाइएको छ । विराटनगरको सिंघिया, केसलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, मण्ठा पोखरीलगायतका स्थानमा घाट निर्माण गरी श्रद्धालु भक्तजनले अस्ताउँदो सुर्यलाई अर्घ दिने तयारी भव्य रुपमा गरिएको छ ।
शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । आइतबार बिहान उदाउँने सूर्यलाई अर्घ दिए पछि चार दिन लामो ब्रत सम्पन्न हुनेछ ।