प्रकाशचन्द्र भट्टराई
दमौली, कार्तिक १८ गते । आवुँखैरेनी गाउँपालिका वडा नम्बर ५ र चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित मुग्लिङ–नारयणगढ सडक खण्डको घुमाउने जोड्ने बुद्धसिंह मार्गमा मोटरेवल पुलको निर्माणको काम पुनः सुरु भएको छ ।
सम्झौता अनुसार गत असार मसान्तमा पुल निर्माण सम्पन्न भई हस्तान्तरण समेत भईसक्नु पर्नेमा विभिन्न कारणले पुल निर्माणमा ढलाई हुँदै आएको थियो । पछिल्लो समय तिन दिन अघिबाट पुल निर्माणको काम सुरु भएको हो ।
अहिले तनहँु तर्फको भागमा एक्साभेटर लगेर पिल्लरको जगलाई पुनः खन्ने काम सुरु भएको छ । तनहँु तर्फको पिल्लरको काम सकिएपछि चितवन तर्फको बेस खन्ने काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।
यस अघि वर्षायाम भरी त्रिशुली नदीमा पानीको बहाव बढि भई काम गर्न नसकिएको भन्दै निर्माण कम्पनीले तिहार सकिनासाथ काम सुरु गर्ने बताएको थियो । गत बैशाखमा सडक विभाग अन्तर्गतको बैदेशिक सडक महाशाखाका महानिर्देशक अर्जुनजंग थापाको नेतृत्वमा आएको प्राविधिकहरुको टोलीले जतिसक्दो छिटो पुल निर्माणको काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।
उक्त पुलको निर्माणको जिम्मेबारी पाएको निर्माण कम्पनीका अधिकारीहरुले मुग्लिङ सडक आयोजनाले अवरोध गरेको कारण हालसम्म पुल निर्माण सुरु गर्न नपाएको प्रष्टिकरण दिएका थिए ।
मुग्लिङ–नारयणगढ सडक देशकै प्रमुख लाईफ लाईन भएको हुँदा कुनै पनि संरचनाले उक्त सडकलाई असर पार्न नहुने भन्दै घुमाउनेको पुल उक्त सडकसँगै जोडिने भएको हुँदा पुलको जग खन्ने क्रममा सडकलाई असर पर्न सक्ने हुँदा त्यस तर्फ निकै विचार गरेर अपनाउनु पर्ने सबै उपायहरु र प्रविधिहरुको प्रयोग गरेर पुल निर्माण कार्य तत्काल सुरु गनु पर्ने प्राविधिकहरुले बताएका थिए ।
डिभिजन सडक कार्यालय तनहँुका प्रमुख विष्णु काफ्लेले घुमाउनेको पुल निर्माण कार्यमा हालसम्म भएको ढिलाईलाई स्विकार गरिएपनि अव कुनै पनि बाहानाबाजी नचल्ने बताउनु भयो । उहाँले अव तत्काल काम सुरु गरी दुई वर्ष भित्रमा पुल सम्पन्न गर्नु पर्ने बताउनु भयो । पुल निर्माणकोलागि आवश्यक प्राविधिक सहयोग डिभिजन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो ।
पुल निर्माणको जिम्मेबारी पाएको मृत सञ्जिबनी निर्माण कम्पनीका प्रोपाईटर गौरी थापाले हालसम्म मुग्लिङ–नारयणगढ सडक आयोजनाको कारणले नै पुल निर्माणमा ढिलाई भएको भन्दै अव आयोजना प्रमुखले नै सहजिकरण गरेपछि पुल निर्माणमा कुनै समस्या नरहेको बताउनु भयो । उहाँले अव काम सुरु गरेको दुई वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने बताउनु भयो ।
गन्डकी प्रदेशलाई चितवनको नारायणगढ सम्म जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवलु पुल सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गरिने भएको छ ।
१ सय ५ मिटरको आर्क डिजाईनको उक्त पुल भ्याट सहित ९ करोडको लागतमा निर्माण गरिन लागिएको डिभिजन सडक कार्यालय तनहँुका प्रमुख काफ्लेले बताउनु भयो । उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारयणगढ आउन जान हाल सञ्चालन भईरहेको मुग्लिङ–नारयणगढ सडक भन्दा २३ किलोमिटरको दुरी छोटो पर्छ ।