भउचप्रसाद यादव
काठमाडौँ, कातिक २३ गते । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटाँैडा जोड्ने सबैभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे बल्खु–दक्षिणकाली सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ । सडकका कतिपय खण्ड अहिले पनि नाजुक भइरहँदा एक महिनामा सम्पन्न हुनेमा अझै ढुक्क हुने अवस्था छैन ।
यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षात्को समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका स्थानीयवासी र यो सडक भएर यात्रा गर्ने यात्रु सास्ती बेहोर्दै आएका छन् । वाक्क भएका स्थानीय बासिन्दा तथा यात्रुको स्वास्थ्यमा समस्या उत्पन्न हुने खतरा बढ्दो छ । त्यसैगरी वीरगञ्ज, हेटौँडालगायत तराईका जिल्लाबाट उपचारका लागि बिरामी बोकेर काठमाडौँ आउने जाने एम्बुलेन्सलाई यस सडकले असहज बनाएको छ ।
काठमाडौँबाट बल्खु–फर्पिङ–छैमले–कुलेखानी–देउराली हुँदै हैटौँडासम्म आउन जानका लागि छोटो दूरीका रूपमा रहेको यो सडकको विस्तार तथा स्तरोन्नति कार्य मङ्सिरभित्र सम्पन्न हुने जानकारी सडक योजनाका प्रमुख जगत प्रजापतिले दिनुभयो ।
“यस सडकखण्डमा कालोपत्रे गर्ने काम डेढ किलोमिटर मात्र बाँकी छ”, उहाँले भन्नुभयो, “विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा छ, यसको अधिकांश काम सम्पन्न भइसकेको छ, अबको एक महिनाभित्र यसको सम्पूर्ण काम सम्पन्न हुने छ । ”
भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाअन्तर्गत चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहदेखि दक्षिणकालीसम्म यो सडकखण्ड विस्तार हुन लागेको हो ।
अहिले बिग्रेका सडकको कालोपत्रे, भत्केका सडक किनारको मर्मत सम्भारलगायतका काम भइरहेको उहाँले बताउनुभयो । यस सडकको निर्माण सामान्य स्तरबाट गरिने गरी सम्झौता भएको हो ।
सडकको दुवैतिर गाउँबस्ती भएको, गाउँका मानिसले घरको छतको पानी सडकमा खसाल्ने गरेको, माटो र निर्माण सामग्रीका कारण सडकको
नाली पुरिने गरेकाले सडक बिग्रिने गरेको योजनाको दाबी छ ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले काठमाडौँ र हेटौँडा जोड्ने सहायक राजमार्गका रूपमा रहेको बल्खु–दक्षिणकाली सडकको निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको बताउँदै मङ्सिर महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो ।
यो सडक अगाडि बन्दै र पछाडिबाट भत्किँदै गइरहेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “पाँच वर्षअघि बस्ती सडकका रूपमा तथा दक्षिणकाली माताको दर्शन गर्न आउने भक्तजनका लागि यो सडकको ‘इस्टिमेट’ गरिएको हो । अहिले यो तराई र काठमाडौँ जोड्ने सहायक राजमार्गको विकास भइसकेको छ, यहाँ दैनिक तीन हजारदेखि तीन हजार पाँच सय
जति सवारी साधन गुड्ने गर्छन्, जसले गर्दा सडक भत्कने गरिएको छ । ”
निर्माण कम्पनीले बस्ती सडकका रूपमा गरिएको ‘इस्टिमेट’ अनुसारको स्तरमा काम गरिरहेको छ तर राजमार्गजस्तो दैनिक तीन÷चार हजार गाडी गुड्ने गरेकाले सडकको बन्दै बिगिँ्रदै गरेको उहाँले स्पष्ट पार्नुभयो । गरिएको ‘इस्टिमेट’को अतिरिक्तका गुणस्तरमा निर्माण कम्पनीबाट काम गराउने अवस्था नरहेको उहाँले बताउनुभयो ।
अहिलेको सवारी साधनको चापअनुसार यस सडकको फेरि विस्तार तथा स्तरोन्नति गर्नुपर्ने बताउँदै उहाँले यसका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
मुख्य समस्या मुआब्जा र विद्युत्को खम्बा
योजनाका अनुसार यो सडक विस्तारमा मुख्य समस्या मुआब्जा वितरण नै रहेको छ । कतिपय ठाउँमा घरजग्गाको मुआब्जा भुक्तानी लिएर पनि अहिलेसम्म घर नभत्काएको, कतिपय ठाउँमा सरकारले दिने मुआब्जामा चित्त नबुझी घर भत्काउन नमानेको अवस्था छ । उहाँले भन्नुभयो, “८८ वटा घरको मुआब्जा दिनुपर्नेमा अहिलेसम्म ६० वटाको मुआब्जा वितरण कार्य सम्पन्न भइसकेको छ । ”
घर यथावत् राखी कालोपत्रे
हटाउन बाँकी रहेका घरहरूको बलेसीलगायतका केही भाग मात्र सडक क्षेत्रमा पर्ने हुनाले सडक विस्तार तथा कालोपत्रे गर्नमा कुनै समस्या नहरेको बताउँदै उहाँले बाँकी मुआब्जा वितरण कार्य यथावत् राखेर पनि अबको एक महिनाभित्र विस्तार कार्य सम्पन्न गर्ने बस्नेतले स्पष्ट पार्नुभयो ।
घर हटिसकेपछि सडक विभागले आफ्नै खर्चमा सो ठाउँको बाँकी निर्माण कार्य पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्युत् प्राधिकरणले विद्युत्को खम्बा समयमा नहटाउँदा पनि समयमा काम गर्न ढिलाइ भएको हो । विद्युत्को खम्बा हटाउनका लागि प्राधिकरणलाई परिपत्र भई लाग्ने खर्चसमेत भुक्तानी भइसकेको छ ।
विद्युत्को खम्बा स्थान्तरण कार्य अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०२२ मा ईश्वरी राजमार्गका रूपमा बल्खु–दक्षिणकाली सडक निर्माण गरिएको थियो । सीमाञ्चल–गौरीपार्वती–सुनौले खिम्ती (जेभी)ले यो सडकखण्ड निर्माण गर्न लागेको हो । सीमाञ्चल भारतीय र गौरीपार्वती तथा सुनौलो खिम्ती नेपाली निर्माण कम्पनी हो । अक्टुबर २०१७ मा सम्पन्न गर्ने गरी यो सडक निर्माणका लागि १७ जुन २०१५ मा सम्झौता भएको थियो ।
३० नोभेम्बर २०१९ सम्म यो सडक निर्माणको म्याद थप गरिएको हो ।
भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा दुई लेनको यो सडक विस्तार भइरहेको हो । २८ करोड १५ लाख रुपियाँ (भ्याटसहित) कुल लागतमा यो सडक विस्तार भइरहेको छ । यो सडकको अहिलेसम्मको वित्तीय प्रगति ८८ प्रतिशत छ ।