गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २४ गते । उपत्यकाका तीन राज्यलाई पृथ्वीनारायण शाहले आर्थिक घेराबन्दी गर्न थालेपछि आत्तिएका जयप्रकाश मल्ले इष्ट इन्डिया कम्पनीसँग सैनिक सहायता मागे । नेपालहुँदै तिब्बत छिर्ने बाटो खोजिरहेको इष्ट इन्डिया कम्पनीले कप्तान किनलकको नेतृत्वमा कान्तिपुरका राजा जयप्रकाशको सहयोगार्थ दुई हजार चार सय सेना पठायो ।
जनकपुरहुँदै कान्तिपुरतिर बढेका अंग्रेज सेनालाई सिन्धुलीगढी क्षेत्रमा गोर्खालीले १८२४ असोज १५ गते परास्त गरेका थिए । त्यो गढीयुद्धमा ढुङ्ग्रेबासमा बसेर अंग्रेज सेनाको ढाड हान्ने काम वंशु गुरुङले गरेको इतिहासकारहरुको भनाई छ । तिनै वंशु गुरुङका सन्तान वर्षको एकपटक भए पनि सिन्धुलीगढीमा पाइला राख्दै पुर्खाको स्मरण गर्ने गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरबाट वंशु गुरुङका सन्तानले सिन्धुलीगढी विजयोत्सवमा सहभागिता जनाएका छन् । वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन लालजङ्ग गुरुङले भन्नुभयो, “सिधुलीगढीमा लड्ने वंशु गुरुङ हाम्रै पुर्खा हुन् । पूर्खाको बलिदानी स्मरण गर्न र श्रद्धाञ्जलि दिन सिन्धुलीगढी पुग्यौं ।”
तीन वर्षदेखि विजयोत्सवको समयमा सिन्धुलीगढीमा वंशुका परिवार सहभागी हुँदैआएका छन् । सिन्धुलीगढी विजयोत्सवमा सहभागी वंशुका सन्तानलाई कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले स्वागत गर्नुभएको थियो ।