गोरखापत्र समाचारदाता
ललितपुर, कात्तिक २९ गते । राइड थ्रु सिन्धुलीगढी–२०१९ मा सहभागी हुने साइकल यात्राका लागि आयोजित अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य परीक्षण शुक्रबार सम्पन्न भएको छ । मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको हो । सोही अवसरमा विश्व साइकलयात्री पुष्कर शाह र संयुक्त राष्ट् संघका प्रतिनिधि इमेलिन क्लेय सुजन टाचरले राइड थ्रु सिन्धुलीगढी–२०१९ टिसर्ट सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाहले ‘राइड थ्रु सिन्धुलीगढी’ साइकलयात्राले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै भन्नुभयो, “ यो साइकलयात्रा पशुपतिलाई सिन्धुलीगढीहुँदै जनकपुर जोड्ने धागो हो ।” उहाँले साइकल यात्राबाट अविस्मरणीय अनुभूति लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “साइकलमा घुम्दा प्रकृतिसँग स्पर्श गर्न सकिन्छ ।
साइकलको महत्व पछिल्लो समय युवा पुस्ताले विस्तारै बुझ्दै गएको छ ।” उहाँले सहरको प्रदुषणलाई नियन्त्रण गर्न साइकलभन्दा अर्को विकल्पै नभएको बताउनुभयो । कार्यक्रममा राइड कोअर्डिनेटर दिपिका ज्ञवालीले साइकल यात्राको तयारीबारे जानकारी दिदै २५ जना महिला साइकलयात्रीसहित १५० जनाको सहभागिता हुने बताउनुभयो ।
त्यस्तै, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश २ संयोजक मनिष झाले साइकल यात्रीलाई जनकपुरमा न्यायो स्वागतका लागि तयार रहेको चर्चा गर्दै पर्यटक भित्र्याउनुभन्दा पहिला पर्यटकीय स्थलको पहिचान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका प्रतिनिधि इमेलिन क्लेय सुजन टाचरले महिला हिंसा बिरुद्धको १६ दिने अभियानका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाल भ्रमण वर्ष प्रदेश ३ का कार्यक्रम अधिकृत दामोदर पाण्डे, मेडिसिटी हस्पिटलका जयराम महर्जन, रमेश न्यौपाने, साइकल अभियन्ता सुदिप पौडेलले साइकल यात्राको सुरक्षा, स्वास्थ्य सजगतालगायत विषयमा जानकारी दिनुभएको थियो ।