कास्की समाचारदाता
कास्की, कात्तिक ३० गते । प्रथम राष्ट्रिय कफी कपिङ्ग प्रतियोगिता २०७६ मा जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकले ८५.५ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ ।
कफी क्षेत्रमा आबद्ध कफी उत्पादक सहकारी सङ्घको प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले यो यस्तो कार्यक्रम आयोजना गरेको थियो ।
राष्ट्रिय कफी एकेडेमीले पोखरा र ललितपुरमा गरी एक हप्तासम्म देशव्यापी रूपमा विभिन्न जिल्ला कफी सहकारी र उत्पादक सङ्घबाट प्राप्त १६ वटा नमुनाको कफी कपिङ्ग गरी त्यसको स्वाद र गुणस्तर परीक्षण गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कफी कपिङ्गबाट त्यसको स्वाद र गुणस्तर परीक्षण गरेपछि मात्र यसको मूल्य निर्धारण गरिएको नेसनल कफी एकेडेमीका अध्यक्ष डा. राजकुमार बन्जराले बताउनुभयो ।
अन्तर्राष्ट्रिय रूपमा प्रमाणित प्राविधिक निमा तेन्जिङ्ग शेर्पाले सिन्धुपाल्चोकको कफीमा हुने विभिन्न गुणहरू जस्तै अरोमा, एसीडीटी, बोडी, आफ्टरटेस्ट, स्विटनेस लगायतका गुण सन्तुलित स्वाद र गुणस्तरको रहेको तथा केही मात्रामा मह र लेमनग्रास जस्तो स्वाद रहेको बताउनुभयो ।
त्यस्तै दोस्रो स्थानमा रहेको जिल्ला कफी सहकारी सङ्घ, गुल्मीले ८४.७५ अङ्क प्राप्त गरेको छ । अर्को तेस्रो स्थान जिल्ला सहकारी सङ्घ गुल्मीले ८४ अङ्कसहित प्राप्त गर्न सफल भएको छ । चौथो स्थानमा कास्की जिल्लाको ब्लु माउन्टेन अर्गानिक फार्म, पोखरा (२१ मा उत्पादित कफीले ८३.७५ अङ्क प्राप्त गरेको छ ।
क्रमशः पाँचौ स्थानमा जिल्ला कफी सहकारी सङ्घ, नुवाकोटबाट उत्पादित कफीले ८३.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, कास्कीले ८२.२५ अङ्क, जिल्ला कफी सहकरी सङ्घ, लमजुङले ८१.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, तनहँु र पर्वतले तुलनात्मक रूपमा ललितपुर, काभ्रेलगायत अन्य जिल्लाभन्दा कम अङ्क प्राप्त गरेका छन् ।
विश्व बजारमा कफीको स्वाद तथा गुणस्तर मापदण्ड निर्माण गर्ने संस्था स्पेसियालिटी कफी एसोसिएसनले कफी कपिङ्गमा ८० भन्दा बढी अङ्क प्राप्त गर्ने कफीलाई विशिष्ट गुण भएको कफीको रूपमा बढी मूल्यमा बिक्री हुने कुरा क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताउनुभयो ।
त्यस्तै समग्र रूपमा नेपाली कफी विश्व बजारमा उच्च कोटीको अर्थात् विशिष्ट गुण भएको पाइए पनि कृषकले प्रशोधनमा त्यति ध्यान नदिँदा गुणस्तर खस्किन सक्ने र कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना हुनेसक्ने पुरीले बताउनुभयो ।
अघिल्लो वर्ष मात्रै नेपाली कफीले विश्व बजारमा कपिङ्ग गर्दा ९० भन्दा बढी अङ्क प्राप्त गरेको र नेपाली कफी ब्रान्डको रूपमा स्थापित भइरहेको तर मागअनुसार उत्पादन र गुणस्तर सुधार गर्न नसक्दा पछि पर्ने सकिने हुँदा कृषकलाई सचेत रहन आग्रह गर्नुभयो ।