कलैया समाचारदाता
बारा, कातिक ३० गते । बाराको सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा शुक्रबार राति ११ बजे छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीय बीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।
अवैध रुपमा भारततर्फ लैजादंै गरेको छोकडा बरामद गर्ने क्रममा भएको झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा सशस्त्र प्रहरी जवानद्वय अमोदकुमार यादव र श्याम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लैजानुका साथै सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बेस कैम्प पिपरपाटीको ४ जना सशस्त्र प्रहरी नाकामा ड्यूटीमा रहेका बेला गएराति ११ बजे ३०÷३५ जना मोटरसाईकलमा आएका छोकड तस्करहरुको समूहले स्थानीयहरुको सहयोगमा छोकडा खोसेर लगेको सशस्त्र प्रहरीले जनाएको छ ।