नेत्र शाही
खलङ्गा, मंसिर १ गते । ‘जिल्ला प्रशासन अड्डामा सेवा लिन आउने मान्ठले ध्यान दिनुपर्ने कुराहरु’ भन्ने आवाज जिल्ला प्रशासन कार्यालय जुम्लाको गेटमा जाने बित्तिकै सुनिन्छ । प्रशासनमा जाने सेवाग्राहीले कतै रेडियो बजिरहेको अनुमान गर्छन् । तर केही छिनमा जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा सुविधाको अडियो आवाज निरन्तर दोहोरिरहन्छ ।
सेवाग्राहीलाई पहुँच पु¥याउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयले अडियो नागरिक वडापत्र संचालनमा ल्याएको छ । कार्यालयबाट प्रदान गरिएका सेवाहरुलाई अझ बढी जनमुखी, सुदृढ, सेवामूलक, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले चार मिनेटको खस भाषाको अडियो नागरिक बडापत्र संचालनमा ल्याएको हो ।
कार्यालयको नागरिक सहायताकक्षामा अडियो राखेर सेवा लिन आउने पढ्न नसक्ने नागरिकलाई सुनाउनको लागि अडियो नागरिक बडापत्रको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । नागरिक बडापत्रका मुख्य मुख्य बुँदाहरु समेटेर जुम्लाका नागरिकले बुझ्ने स्थानीय खसभाषामा रेकर्ड गरिएको अडियो नागरिक बडापत्र संचालनमा ल्याइएको उहाँले जनाउनुभयो ।
वि.सं.२०६८ सालको जनगणना अनुसार जुम्लामा पुरुष साक्षरता ६७ प्रतिशत र महिला साक्षरता ३९ प्रतिशत रहेको छ । कार्यालयमा सेवा लिन आउने निरक्षर नागरिकलाई लक्षित गरी अडियो नागरिक बडापत्र तयार पारिएको प्रशासनको भनाइ छ ।
प्रजिअ बञ्जाडेका अनुसार नागरिक वडापत्र र वेभसाइट पढ्न नसक्ने तथा भाषागत कठिनाइको कारण सेवाग्राही सूचनाको पहुँचबाट बञ्चित नहुन र बिचौलियाले अनुचित लाभ लिन समेत नसकून् भन्ने विश्वास अडियो नागरिक बडापत्रबाट लिन सकिनेछ । कार्यालयबाट प्रदान गर्ने सेवाको विवरण, सेवाप्राप्तगर्न पेश गर्नुपर्ने कागजात, आवश्यक प्रक्रिया, लगायत शुल्क र सो सम्बन्धमा गुनासो कहाँगर्ने र क्षतिपूर्ति के हुन्छ भनी सम्पूर्ण विवरण उल्लेख गरिएको अडियो नागरिक बडापत्र प्रशासनले तयार गरेको छ ।
नेपाल पत्रकार महासंघको समन्वयमा स्थानीय पत्रकारहरुको सहयोगमा अडियो वडापत्र तयार पारिएको हो । नेपाल पत्रकार महासंघका प्रदेश सदस्य कृष्णमाया उपाध्याय र महासंघका जिल्ला सहसचिव नवरत्न नेपालीको आवाजामा नागरिक वडापत्र रेकर्ड गरिएको छ ।
दृष्टिविहीनका लागि सजिलो
यसैगरी, दृष्टिविहीन व्यक्तिहरुका लागि सजिलो हुने भएको बताइएको छ । राहदानीको वारेमा प्रशासन पुगेका दृष्टिविहीन दत्तबहादुर बुढाले आफूहरुलाई प्रशासनको सेवा अडियो वडापत्रले जानकारी सजिलै हुने बताउनुभयो । यसैगरी यसअघि जिल्ला प्रशासन कार्यालयले स्तनपान कक्ष र आराम कक्षभवन नै निर्माण गरी संचालनमा आउँदा सेवाग्राहीहरुलाई सजिलो भएको छ । अडियो वडापत्रमा नागरिकता, राहदानी, विपत व्यवस्थापन, जन्मदर्ता र मृत्युदर्ताको प्रावधानहरु र सेवा सुविधाका बिषयमा समेटिएको प्रशासनले जनाएको छ ।