राममणि दाहाल
हेटौँडा, मंसिर १ गते । मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित भीमफेदी कारागारबाट एक कैदी भागेका छन् । कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय भोगिरहेका सुनसरी साविक बकलौरी गाविस ४ का ३० वर्षीय कुलदीपराज धामी फरार भएका हुन् ।
सुरक्षाका लागि कारागारमा लगाएको तरसहितको १२ फिट अग्लो पर्खाल नाघेर भागेको अनुमान गरिएको छ । कारागारका जेलर प्रकाश खनालले कैदी बन्दी गणना गर्ने क्रममा एक जना कम भएको पाइएपछि खोजतलास सुरु गरिएको जानकारी दिनुभयो । शनिबार राति ९ः०० बजेको समयसम्म कैदी धामी कारागार भित्रै रहेको र १० बजे गणना गर्दा नभेटिएपछि नेपाल प्रहरीलाईसमेत जानकारी गराई खोजतलास थालिएको थियो ।
फरार भएको खबर प्राप्त भएपछि खोजी कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको छ, उहाँले भन्नुभयो, कारागारको सुरक्षार्थ बनाइएको पर्खालको एक स्थानमा कमजोर र केही ग्याप रहेकोले त्यहींबाट फरार भएको हुनसक्ने अनुमान गरिएको छ । कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले खबर गरेपछि तत्कालले खोजी कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।
वि.सं २०७१ पुस २९ गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद तोकिएका धामी पाँच वर्षदेखि सजाय काटिरहेकोमा १५ महिनाअघि चितवनबाट भीमफेदी कारागार ल्याइएको हो ।
अन्दाजी ३० वर्षीय धामी फरार भएपछि चितवनस्थित घर र पहिलेको ठेगाना सुनसरीमा समेत निगरानी गरिएको कारागार प्रमुख खनालले जानकारी दिनुभयो ।
१२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैको प्रयासमा असम्भव रहेको र कारागारमा रहेको बुर्जाबाटसमेत राम्रोसँग नदेखिने एक स्थानमा तार तानिएको देखिएकोले कैदी धामी त्यहींबाट भागेको हुनसक्ने अनुमान गरिएको छ । कैदी फरार भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा सातजनाको प्रहरी टोलीले फरार रहेका धामीको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
कारागारको सम्पूर्ण सुरक्षामा सशस्त्र प्रहरीले गर्दै आएको छ । अदालतमा बन्दीलाई ल्याउन पर्दामात्र जनपथ प्रहरी खटिने गरेका छन् ।