देवरामप्रसाद यादव
सप्तरी, मङ्सिर ४ गते । सदरमुकाम राजविराजस्थित राजरंगशालामा बुधबार दिउँसो उद्दारको अभ्यास गरिएको छ । प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेनाको भिमदलगणले राजविराज नगरपालिकाको समन्वयमा विगत ४ दिनदेखि संचालन गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिमको अन्तिम दिन बुधबार राजरंगशालामा सेनाले विपदमा गरिने उद्दार कला प्रदर्शन गरेको हो ।
भिमदलगणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर, नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, प्रहरी उपरिक्षक कृष्ण प्रसार्इं, सशस्त्रका प्रहरी उपरिक्षक उद्घव तिमिल्सिना, भिमदलगणका कार्यअधिकृत अमरबहादुर थापा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासका साथै ठुलो संख्यामा उपस्थित सर्वसाधारण तथा विभिन्न विद्यालयका विद्यार्थीको उपस्थितिमा गणका तालिम प्राप्त उद्दारकर्ताले आफ्नो कौशल देखाउनुभएको थियो ।
आगलागीका बेला उद्दार कार्य कसरी गर्ने भन्ने ज्ञान सिकाउन यस्तो उद्दारकला प्रदर्शन गरिएको प्रमुख सेनानी कुँवरले बताउनुभयो ।
सप्तरीमा आर्थिक वर्ष २०७५/०७६ मा आगलागीका ६७ घटना भएका थिए । जसबाट करिब डेढ करोड रुपियाँ बराबरको क्षति भएको राजविराज नगरपालिका बारुण यन्त्र विभागको तथ्यांकले देखाएको छ ।
प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले विपद्को पूर्व तयारी र विपद्का समयमा गरिनुपर्ने उद्दार र राहतको सांकेतिक अभ्यासले विपद्को जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने बताउनुभयो । रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतले अभ्यासले धेरै ज्ञान सिकाएको स्पष्ट पार्नुभयो ।
वाटर हेलमेट, फायर ग्यास, फायर टयुनिक, कयाराबिना, झुमरा, फस्टएड, फिगरएड, गिरीगिरी लगायतका एकसय भन्दा बढी उद्दार सामग्री प्रदर्शन गरिएको थियो ।
आगलागीले पिरोलेको सप्तरी जिल्लामा स्थानीयस्तरमा आगलागीबाट जोगिने तथा आगलागी भईहाले तत्काल नियन्त्रण लिन गर्नुपर्ने कामबारे विपद् व्यवस्थापन सम्बन्धी अभ्यास र सचेतना कार्यक्रमले धेरै हदसम्म सहयोग पु¥याएको भन्दै स्थानीय बासिन्दा खुसी हुनुभएको छ ।