गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्गसिर ६ गते । त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागले गोरखापत्र नयाँ नेपाल बहुभाषा पृष्ठको प्रभाव मूल्याङ्कनबारेको अध्ययन प्रतिवेदन गोरखापत्र संस्थानलाई बुझाएको छ ।
गोरखापत्र संस्थान र त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सो सम्पन्न अध्ययन प्रतिवेदन अध्ययन टोलीका संयोजक डा. डम्बर चेम्जोङले शुक्रबार संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।
नयाँ नेपाल, बहुभाषा पृष्ठको प्रकाशनको १२ वर्षमा यसको के कस्तो प्रभाव प¥यो, यसलाई थप प्रभावकारी बनाउन के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गत जेठ ११ गते गोरखापत्र संस्थान र त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको थियो ।
प्रतिवेदन हस्तान्तरण गर्दै मानवशास्त्र केन्द्रीय विभागका प्रमुख समेत रहनुभएका डा.चेम्जोङले अध्ययन पछिल्लो जनगणनाको आधारमा मुलुकभरिका विभिन्न भाषाभाषीहरु, नेपाली इतर भाषीहरु गरेर कति भाषाहरु होला, त्यसको वितरण ‘प्याटर्न’ कस्तो होला भन्ने तथ्याङ्क प्रतिवेदनमा स्पष्ट रुपमा आएको जानकारी दिनुभयो । अध्ययन र अनुसंधान गर्ने क्रममा प्राप्त भएको तथ्यलाई जस्ताको त्यस्तै राख्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
ती भाषाहरुको संरक्षण प्रवद्र्धनका लागि अबका दिनमा के गर्ने सम्बन्धमा सम्बन्धित भाषाभाषीहरुको सुझाव सल्लाहलाई प्रतिवेदनमा अभिलेखीकरण गर्ने गरिएको संयोजक चेम्जोङले जानकारी दिनुभयो । गोरखापत्रले विभिन्न भाषा पृष्ठको प्रकाशन सम्बन्धित भाषाभाषीहरूको बाहुल्यता रहेको प्रदेशबाट नै गर्ने नीति लिन लागेको अहिलेको अवस्थामा अध्ययन अनुसंधानको क्रममा सम्बन्धित भाषाभाषीहरुले आफ्नो भाषाको स्थान मोफसलभन्दा केन्द्रमा नै हुनुपर्ने माग गरेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको जानकारी उहाँले दिनुभयो ।
त्यसैगरी, अध्ययन अनुसंधानको क्रममा भाषा सँस्कृति क्षेत्रका विज्ञहरुबाट समेत स्थानीय स्तरभन्दा केन्द्रले नै भाषाको पहिचान दिनुपर्ने र संरक्षणमा जुट्नुपर्ने सुझाव आएको जानकारी संयोजक चेम्जोङले दिनुभयो ।
संस्थानका अध्यक्ष भण्डारीले प्रतिवेदनमा आएका विषयवस्तु र सुझावलाई अध्ययन गरेर कसरी अगाडि बढ्नेबारे छलफल गर्ने बताउँदै उहाँले १२ वर्षमा के उपलब्धि हासिल ग¥यौँ र यसका चुनौतीहरु के के छन्, के गर्दा सिङ्गो भाषा आन्दोलन, गोरखापत्र र मुलुकलाई नै फाइदा पुग्न सक्दछ भन्नेबारेमा छलफल समेत गरिएको जानकारी दिनुभयो ।
गोरखापत्रले १२ वर्षअघि शुरु गरेको नयाँ नेपाल बहुभाषा पृष्ठको प्रकाशनको काम कस्तो रह्यो, के उद्देश्यले यो काम शुरु गरियौँ, अहिले कहाँ पुगेका छौँ र अब कता जाने भन्ने जिम्मेवारी अध्ययन टोलीलाई दिइएको बताउनुभयो । केही ढिला भए पनि यो एउटा राम्रोे काम भएको उहाँले बताउनुभयो ।
संस्थानले खोजेका विषयवस्तु प्रतिवेदनमा आएको बताउँदै उहाँले प्रतिवेदनले बहुभाषा पृष्ठलाई थप कसरी राम्रो बनाउने, मातृभाषाका पाठकहरूमा यो पत्रिका कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा यो प्रतिवेदनले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा संस्थानका विज्ञ सल्लाहकार टीकाराम राई, सम्पादक सल्लाहकार गोपाल खनाल, गोरखापत्रका प्रधानसम्पादक श्रीओम श्रेष्ठ, राइजिङ नेपालका प्रधानसम्पादक जगदीश पोखरेल, नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्र र प्रशासन विभागका निर्देशक तारा वस्याल उपस्थित हुनुहुन्थ्यो ।
मुलुकका भाषाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित गोरखापत्रमा दैनिकमा २०६४ साउनदेखि गोरखापत्र ः नयाँ नेपाल बहुभाषा पृष्ठको प्रकाशन शुरु भएको थियो । अहिले यस पृष्ठ अन्तर्गत ३८ वटा मातृभाषामा विभिन्न सामग्रीको नियमित प्रकाशन भइरहेका छन् ।