गोरखापत्र समाचारदाता
ललितपुर, मङ्सिर ९ गते । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सोमबार हिन्दू धर्मावलम्बीले देशका विभिन्न मठमन्दिरमा सतबीज छरेर बालाचतुर्दशी पर्व मनाइउँदै छन् । आराध्यदेवका रूपमा हेरिने पशुपति क्षेत्रको भागलभुगल र श्लेषमान्तक वनमा सतबीज छरे दिवङ्गतले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।
प्रत्येक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन विभिन्न अन्नअनाज र गेडागुडी छरेर मृतक आफन्तको मोक्षको कामना गरिन्छ । आइतबार साँझ सतबीज छर्नेले जाग्राम रही महाद्वीप बालेका छन् । महाद्वीप बालेको भोलिपल्ट सतबीज छर्नेका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानमा रात बस्न त्रिपालको व्यवस्था गरेको छ ।
पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले सतबीज छर्नेहरूका लागि बस्ने स्थानको व्यवस्था गरिएको बताउनुभयो । परापूर्वकालमा राक्षसले शवदाहका लागि ल्याइएको शवबाट मासु खान थालेपछि उसलाई मार्न बालानन्द नामका मीतलाई अह्राइएको थियो । मीतले राक्षसको बध गरेपछि श्लेषमान्तक वनमा भौँतारिइरहेका बालानन्दलाई महादेवले आजको दिन वनमा सतबीज छरे मनको सन्ताप हट्ने र मर्नेले पनि मोक्ष पाउने सल्लाह दिएपछि सतबीज छर्ने प्रचलन रहेको किंवदन्ती छ । यही अवसरमा पशुपतिनाथको साथमा रहेको एकमुखे रुद्राक्ष र नागमणि आइतबार भक्तजनलाई अवलोकन गराइएको छ । सतबीज पर्व सकिएपछि मङ्गलबार पनि यो प्रदर्शन हुन्छ । यो चतुर्दशीका दिन पशुपतिनाथलाई भक्तजनले ढुकुटीमै राखिदिनू भनी अर्पण गरेको धनमाल पनि ढुकुटीमा राख्ने गरिन्छ ।
यसैले यो पर्वलाई पशुपति क्षेत्रमा महŒवका साथ लिने गरिन्छ ।