देवबहादुर कुँवर
काठमाडौँ, मङ्सिर ९ गते । गोँगबु बसपार्क परिसरलाई मदिरा र ध्रुमपान निषेधित क्षेत्रको रुपमा घोषणा गरिएको छ । मदिरा बेचविखन र पिउन पूर्णरुप निषेध गरिएको छ भने ध्रुमपान निश्चित स्थान बाहेक जथाभावी खान र चुरोटका ढुटा फाल्न रोक लगाइएको छ ।
त्यस्तै, बसपार्कभित्र रेष्टुराँ सञ्चालन गरी माछामासु जन्य परिकारको विक्री वितरण र खानपानमा समेत रोक लगाइएको छ । दक्षिण एसियाकै नमूना बसपार्क बनाउने योजना अनुसार, लोत्से बहुउद्धेश्यीय प्रा.लि.,महानगरीय प्रहरी प्रभाग, बसपार्क र यातायात व्यवसायीले यस्तो अभियान सञ्चालन गरेको हो ।
‘बसपार्कभित्र चोरी, डकैति, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरुपमा नियन्त्रण भएको छ’ महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख सन्तोष दाहालले भन्नुभयो– ‘लोत्सेले नूमना बसपार्क बनाउन सञ्चालन गरेको राम्रो काममा सबैको साथ छ ।’
सूर्तिजन्य पदार्थको प्रयोगबाट बसपार्क फोहर
सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहर फाल्ने कार्य रोक्न ‘डस्पीन’ को व्यवस्था गरिएको छ । तर, पनि प्रयोगमा थप कडाई नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहर हुने गरेका छन् ।
लोत्से बहुउद्धेश्यीय प्रा.लिका प्रमुख ईन्जिनियर दिपक कुँवर नयाँ बसपार्कमा धेरै सुधार गरिएको बताउनुहुन्छ । बसपार्क व्यापार व्यवसायको हव सर्वसाधारण यात्रुको सुविधाका लागि हुुनुपर्छ उहाँले भन्नुभयो–‘यसको स्वरुप नै परिवर्तन हुन्छ ।’
करीब एकसय ६५ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधुनिक, सुविधायुक्त र प्रविधिमैत्री बनाउने कार्य भइरहेको छ । बसको टिकट समेत अब अनलाइनबाट खरिद गर्नसक्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ ।
बस पार्किङ र बस स्ट्याण्ड छुट्टा–छुट्टै
बस पार्किङमा यात्रु बोकेर आएका सवारी साधनहरु सरसफाई र प्राविधिक परीक्षण हुनेछ । चालक तथा सहचालकका लागि बसपार्कभित्र आरामदायिक एसी रुमको व्यवस्था हुनेछ । बाहिर होटलको कोलाहल र चर्को मूल्य भन्दा बसपार्कभित्रको एसी रुम उपयुक्त र सस्तो हुने अपेक्षा गरिएको छ ।
पार्किङस्थानबाट सरसफाई तथा प्राविधिक परीक्षण गरिआएका सवारीहरू बसपार्कमा यात्रुका लागि स्टयाण्डमा हुनेछन् । यसरी स्टयाण्डमा भएका प्रत्येक सवारीका चालकको समेत स्वास्थ्य परीक्षण गरी गन्तव्यमा निष्कन अनुमति प्रदान गरिनेछ ।
बसपार्कबाट हाल दैनिक एकहजार बसहरू आवातजावत हुने गरेका छन् । ठाउँ साघुँरो बन्दै गएकाले माइक्रो र मिनी बस अटाउन सकेका छैनन् । कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारसँगै सडक किनारामा माइक्रो पार्किङलाई समस्या परेको छ ।
यसका लागि पनि पार्किङस्थल अनिवार्य भएको छ लोत्सेले यस विषयमा काठमाडौँ महानगरपालिकासँग छलफल गरेको छ । नयाँ बसपार्क लोत्सेले महानगरपालिकासँग २८ वर्षका लागि लिजमा लिएको हो ।
तर, लोत्सेको नमूना बसपार्क बनाउने अभियानप्रति यातायात व्यवसायी भने अझैं विश्वस्त हुन सकेका छैन्न । सुदूरपश्चिम यातायातका काठमाडौँ इन्चार्ज मीन पनेरु केही सुधार आएको बताउनुहुन्छ । तर, लोत्सेले प्रस्ताव गरेअनुसारको सुधारमा ढिलाई भइरहेको छ ।
‘दक्षिण एसियाकै नमूना बसपार्क बनाउने अभियानमा यातायात व्यवसायीको पनि साथ छ’ उहाँले थप्नुभयो– ‘बसपार्क बनाउन आएकाहरूले बसपार्क बनाउनुको सट्टा पैसा कमाउनप्रति केन्द्रित भएमा समस्या हुन्छ ।’