गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ९ गते । कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमलगायत आठजनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार प्रतिव्यक्ती ३३ अर्ब ९३ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गौतमसहित शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सम्झना पोखरेल, जेनी श्रेष्ठ, सुमन भुजेल, सुर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध मुद्दा दायर गरिएको छ । गौतमले २०७१ साल असोजदेखि २०७२ साल असारसम्मको अवधिमा गैरकानूनीरुपमा ३३ अर्ब ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सानी पु¥याएको कसुरमा मुद्दा दायर गरिएको हो ।
प्रबन्धक बानियाँलाई बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, अभिलेख जाँच र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको आरोप लागेको छ ।
गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई रकम जम्मा र रकमाान्तर(ट्रान्सफर) गरेको देखिएको छ । गौतमले कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरु र अन्य विभिन्न बैंकहरुबाट इलेक्ट्रोनिक चेक किलिरियङमार्फत् भुक्तानी लिनुभएको थियो । उहाँले नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी समेत बनाउनुभएको थियो । नक्कली राहदानी प्रयोग गरी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको र योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तरीकाले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा लकर बैङ्किङ सिस्टम दुरुपयोग गरी बैंकलाई नोक्सानी पु¥याउनुभएको थियो ।