गरिबी निवारणका उपाय
१. नेपालमा गरिबीको विद्यमान अवस्थाबारे सङ्क्षिप्त विवेचना गर्नुहोस् । साथै गरिबी न्यूनीकरणका लागि भविष्यमा अपनाउनुपर्ने उपायहरूसमेत उल्लेख गर्नुहोस् ।
न्यूनतम जीवनस्तर कायम राख्न आवश्यक साधन–स्रोतको अभाव हुनु गरिबी हो । यो आर्थिक, सामाजिकलगायत मनोवैज्ञानिक रूपले वञ्चित हुने अवस्था हो । नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको अवस्था छ । १८.७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि बाँच्न विवश छन् । नेपालको भौतिक पूर्वाधारको अवस्था, सहरका नदीकिनार, सडक, त्यहाँ भएको फोहोरमैला, गाउँ, टोल, बस्ती, त्यसमा बस्ने जनता, तिनको अनुहार, तिनको सचेतना आदि राम्ररी हेर्ने हो भने नेपालमा गरिबीको अवस्था प्रस्ट देखिन्छ । सडक–सडकका मागेर हिँड्ने व्यक्ति, सडक बालबालिकादेखि ज्येष्ठ नागरिकको संरक्षण राम्ररी हुन नसकेको अवस्था छ । दाइजोप्रथा, बोक्सी आरोप, बालविवाह, छाउपडीलगायतका सामाजिक कुप्रथाहरू गरिबीका उपज हुन् भन्दा फरक नपर्ला । शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था कमजोर छ । कृषिमा व्यावसायिक सीप छैन । समग्रमा यो सबै गरिबीको अवस्था हो ।
– गरिबी न्यूनीकरणका लागि भविष्यमा अपनाउनुपर्ने उपायहरू
– गरिबी न्यूनीकरण गर्ने सर्वोत्तम उपाय भनेको रोजगारी हो । रोजगारीको प्रमुख क्षेत्र उद्योग हो । त्यसैले उद्योगको विकास नै गरिबी निवारण हो । गरिबी न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरू निम्न छन् ः
– गरिबीको पहिचान गर्ने, स्पष्ट परिभाषा गर्ने, आवश्यकता र मागमा आधारित कार्यक्रम तय गरी लक्षित वर्गको आवश्यकता पूरा गर्ने,
– गरिबी न्यूनीकरणमा विगतमा गरिएका सबै प्रयासहरूको गहन समीक्षा गर्ने, कमीकमजोरी केलाई नयाँ ढङ्गले कार्य गर्ने, समस्याहरू निरन्तर दोहोरिन नदिने,
– नीतिगत, कानुनी, संस्थागत एवम् प्रक्रियागत व्यवस्थामा सुधार गरी मुलुकमा लगानीमैत्री वातावरण तयार गर्ने,
– स्वदेशी तथा विदेशी लगानी बढाई मुलुकमा औद्योगिकीकरणको अभियान सञ्चालन गर्ने,
– कृषिलाई पूर्ण व्यावसायिक बनाउने, मल, बीउ, कृषकलाई तालिम, सिँचाइ, बजार, स्टोर गोदाम निर्माण लगानी बढाउने,
– नयाँ नयाँ एवं आकर्षक गन्तव्य स्थल पहिचान गर्ने, पर्यटकको सुरक्षा, गुणस्तरीय सेवा, पूर्वाधार निर्माणलगायतका कार्य गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने,
– कृषिलाई उद्योगसँग तथा कृषि र उद्योग दुवैलाई पर्यटनसँग आबद्ध गरेर रोजगारी बढाउने,
– वैदेशिक रोजगारीमा जाने व्यक्तिको सीप विकास तथा क्षमता अभिवृद्धि गरी दक्ष बनाएरमात्र पठाउने,
– मानव विकासमा पर्याप्त लगानी गर्ने, शिक्षा, सीप विकासले व्यक्ति सक्षम बनाउन सहयोग गर्दछ । सीप विकास तथा प्रशिक्षण केन्द्रहरूको सुदृढीकरण गर्ने,
– संविधानले नागरिकलाई प्रदान गरेका हक, अधिकार तथा संरक्षणको कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्ने,
– गरिबी न्यूनीकरण एक बहुआयामिक विषय हो । यसमा बहुनिकायको संलग्नता हुन्छ, त्यसैले निकायगत समन्वय तथा कार्यक्रमहरूबीच समन्वय गर्नुपर्दछ ।
– सरकारले गर्ने हरेक विकासलाई मानवकेन्द्रित गर्ने, सामाजिक न्याय तथा सुरक्षालाई थप प्रभावकारी बनाउने, वितरणमुखीभन्दा सीप, क्षमता विकासमा लगानी बढी गर्ने ।
– अन्त्यमा, नेपालमा गरिबीले हरेक क्षेत्र ओगटेको छ । व्यक्ति, सडक, समाज, वातावरण सबैतर्फ गरिबी देखिन्छ । यसको न्यूनीकरण सरकारको एकल प्रयासले मात्र हुँदैन । यसका लागि व्यक्ति आफैँ सजग हुनुपर्दछ । सबै नागरिकले केही न केही काम गर्ने, उद्यमशील हुने, शिक्षित हुन खोज्ने, व्यावसायिक हुने, स्वास्थ्यमा सजग हुने भएमा व्यक्ति सक्षम हुन जान्छ । व्यक्ति सक्षम भएमा गरिबी न्यूनीकरण त्यसै हुन्छ ।
२. नक्सा भनेको के हो ? नक्साको महŒव उल्लेख गर्नुहोस् ।
पृथ्वीको सतह वा यसको कुनै निश्चित अंशलाई प्रतिनिधित्व गर्नका लागि कुनै कागज वा अन्य यस्तै वस्तुमा कोरिएको चित्रलाई नक्सा भनिन्छ । विशेषगरी भौतिक पक्षलाई देखाउने नक्सालाई भौतिक नक्सा र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा भनिन्छ । ठाउँ अभावका कारण नक्सामा विभिन्न कुराहरू देखाउन सङ्केत प्रयोग गरिन्छ । सामान्यतया नक्सामा उत्तर दिशालाई माथि फर्काएर तयार पारिन्छ ।
नक्साको महŒव
नक्सा सूचनाको स्रोत हो । ज्ञानको भण्डार पनि हो । यसबाट धेरै कुराको जानकारी हुन्छ । यसको महŒवलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– उपलब्ध प्राकृतिक साधन–स्रोत देखाउन,
– देशको जनसङ्ख्या वितरण प्रस्तुत गर्न,
– विकास निर्माण तथा सेवासुविधाको विस्तार र सञ्चालनका लागि कार्यालयहरूको भौगोलिक अवस्था चित्रण गर्न,
– पर्यटकहरूलाई देशको भौगोलिक अवस्था, बाटोघोटो, सेवासुविधा आदि बारेमा जानकारी दिन, विद्यालय तथा विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि सजिलो बनाउन,
– विश्व नघुमीकनै विश्वबारे विविध जानकारी हासिल गर्न ।
३. उद्योग भन्नाले के बुझिन्छ ? उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार के–के हुन् ? सङ्क्षेपमा लेख्नुहोस् ।
सीप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । उद्योगहरू घरेलु, कुटीर, साना, मझौला तथा ठूलाखालका हुन्छन् । देशलाई आत्मनिर्भर र विकसित बनाउन उद्योगधन्दाको महŒवपूर्ण हात हुन्छ । उद्योगधन्दा मुलुकको आर्थिक विकासका वाहक हुन् । रोजगारी सिर्जनाका आधारशिला हुन् ।
उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार
उद्योग सञ्चालनमा सरकारी स्पष्ट नीति तथा कानुनी व्यवस्था, सरकारी सहयोग, सहजीकरण, समन्वय तथा नियमन, मुलुकमा लगानीमैत्री वातावरण, निजी क्षेत्रलाई सहयोग गर्ने राजनीतिक प्रणालीको आवश्यकता त पर्छ नै, यीसँगै उद्योग सञ्चालनमा निम्नपूर्वाधार आवश्यक पर्दछ ः
– कच्चा पदार्थ
– यातायात तथा सञ्चारको सुविधा
– विद्युत् तथा अन्य ऊर्जा
– दक्ष जनशक्ति
– बजार
– पुँजी
– वित्तीय सुविधा ।
४. भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्र्कता केन्द्रको भूमिकाबारे लेख्नुहोस् ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहनेगरी राष्ट्रिय सतर्कता केन्द्र स्थापना गरिएको हो । निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत प्रमुख रहने यस केन्द्रले नेपाल सरकारका सबै मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भए–नभएको विषयमा सूचना सङ्कलन गर्ने र त्यस्ता निकायबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रणमा यसको भूमिकालाई निम्नानुसार लेख्न सकिन्छ ः
– सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
– भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
– भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
– नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने,
– भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकताअनुसार सम्बन्धित निकायलाई सुझाव दिने, निर्देशन दिने,
– भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचारसम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराइराख्ने,
– भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
– भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने, गराउने,
– नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।
५. सर्ने रोग भनेको के हो ? सरुवा रोग सर्ने माध्यमहरू के–के हुन् ?
एक व्यक्तिबाट अर्को व्यक्तिमा सरुवा हुने रोगलाई सर्ने रोग भनिन्छ । यो कुनै माध्यम जस्तै ः हावा, दूषित पानी, भाँडावर्तन, सम्पर्क आदिबाट सर्दछ । यो सङ्क्रमित रोग हो । दादुरा, क्षयरोग, झाडापखाला, लहरेखोकी, पक्षघात, हैजा, पोलियो, टाइफाइड, भिरिङ्गी, सुजाक, एड्स आदि सर्ने रोग हुन् ।
सरुवा रोग सर्ने माध्यमहरू
– हावाको माध्यमबाट जस्तै : रुघाखोकी, लहरेखोकी, क्षयरोग, दादुरा आदि ।
– फोहोर पानी, भाँडावर्तन आदिको माध्यमबाट । जस्तै ः हैजा, झाडापखाला, टाइफाइड आदि ।
– प्रत्यक्ष सम्पर्कबाट । जस्तै : एड्स, कुष्ठरोग, लुतो आदि ।
– कीराको टोकाइबाट । जस्तै : मलेरिया, डेङ्गु आदि ।
– जनावरको टोकाइबाट । जस्तै : रेविज ।
– इन्जेक्सन (सुई) बाट । जस्तै : एड्स, हेपाटाइटिस ‘बी’ आदि ।
– रगत एवं औषधिबाट । जस्तै : एड्स, हेपाटाइटिस आदि ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा