गोकर्ण दयाल
बैतडी, मङ्सिर १४ गते । उपनिर्वाचनमा बैतडीका तीन स्थानीय तहमा चारहजार ३३६ मतदाताले भोट हाल्दैछन् । शनिबार विहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
दोगडाकेदार गाउँपालिका–४ मा एकहजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९, पुर्चौडी नगरपालिका–४ मा एकहजार ९०९ मतदाता गरि कुल जम्मा चारहजार ३३६ मतदाताले उप निर्वाचनमा भोट हाल्दैछन् ।
दोगडाकेदार गाउँपालिका–४ का कुल एकहजार ८०८ मतदातालाई भोट हाल्न दुई मतदान स्थलमा तीन वटा केन्द्र तोकिएका छन् ।
दोगडाकेदार–४, को वडा अध्यक्ष पदको उप निर्वाचनमा केदार माध्यमिक विद्यालय (क) केन्द्रमा ६१६, ( ख) केन्द्रमा ६१३ र हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ गरि जम्मा एकहजार ८०८ मतदाताले मतदान गर्दै छन् ।
सुर्नया गाउँपालिका– १ का कुल ६१९ मतदातालाई भोट हाल्न तत्कालीन गाविस भवन गुरकेलीमा एउटा मात्र मतदान केन्द्र रहने गरि मतदातालाई भोट हाल्ने व्यवस्था मिलाईएको छ ।
पुरचौडी नगरपालिका वडा नम्बर ४ का कुल एकहजार ९०९ मतदातालाई भोट हाल्न दुईवटा अलग ठाउँमा मतदान स्थाल तोकिएका छ । यो वडाको उप निर्वाचनमा महादेव मावि शिवाबोमा ८६५ र पहरौल माध्यमिक विद्यालय बागामा एकहजार ४४ मतदाताले मतदान गर्दैछन् ।
उप निर्वाचनमा चार चिन्हका तीन मतपत्र
उप निर्वाचन हुने तीन वटा स्थानीय तहमा सूर्य, रुख, हलो र फ्रक गरी चारवटा चुनाव चिन्ह भएका तीन थरी मतपत्र रहेका छन् ।
दोगडाकेदार गाउँपालिका–४ मा सूर्य, रुख र हलो चुनाव चिन्ह भएको मत पत्र छ । सुर्नया गाउँपालिका–१ मा सूर्य र रुख चुनाव चिन्ह भएको मतपत्र छ भने पुरचौडी नगरपालिका–४ मा सुर्य, रुख र फ्रक चुनाव चिन्ह भएको मतपत्र रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्र फुँयालले जानकारी दिनुभयो ।
निर्वाचन हुने स्थानीय तहका वडामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहनु भएको प्रजिअ पौडेलले भन्नुभयो, उप निर्वाचन हुने तीनवटै स्थानीय तहका वडामा पहिलो घेरामा ईन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी बल र तेश्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ ।