ललित बसेल
सुर्खेत, मङ्सिर १५ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल जोखिममा परेको छ । विमास्थलको दक्षिणतर्फ बधशाला र वरिपरि मासु पसल भएका कारण विमानमा चराहरु ठोक्किन पुगेपछि जोखिममा परेको हो ।
दुई महिनाको अवधिमा जहाजमा दुई वटा चरा ठोक्किसकेका छन् । सुर्खेत नागरिक उड्डयन कार्यालयका अनुसार मासुको लोभमा विमानस्थल वरपर घुमिरहने चराहरुले गर्दा विमानस्थलमा जोखिम बढेको हो । कार्यालय प्रमुख उमेशकुमार पन्थीले दुई महिनाको अवधिमा दुई वटा जहाजमा चरा ठोक्किसकेको बताउनुभयो । यद्यपि कुनै दुर्घटना भने भएन । विमानमस्थल दक्षिणतर्फ नजिकै पशु बधशाला रहेको छ । वरिपरि मासु पसलहरु पनि छन् । मासुका कारण चराहरु उडेको उड्यै हुन्छन् । जसले गर्दा विमानस्थलमा जहाज अवतरण गर्दा वा उडान गर्दा जहाजसंग ठोक्किन पुगेपछि जोखिम बढेको कार्यालयप्रमुख पन्थीले बताउनुभयो ।
बधशालाको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको उहाँले जनाउनुभयो । यस्तै अवस्था रहने होभने भविष्यमा चराकै कारण दुर्घटना हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । आफूले यस विषयमा सम्बन्धित निकायहरुलाई पनि जानकारीसमेत गराइसकेको कार्यालय प्रमुख पन्थीले बताउनुभयो ।
विमानस्थलको धावनमार्ग उत्तर दक्षिण हुँदा पनि जोखिम कायमै छ । ठूला जहाज नआउनुको मुख्य कारण पनि धावनमार्ग सानो भएर नै हो । दक्षिणतर्फको काँक्रेविहारको डाँडाले सहज अवतरण गर्न र उत्तरतर्फको अर्को डाँडाले सहज उडान गर्न कठिन भएको उहाँले जनाउनुभयो । यदि धावनमार्ग पूर्व पश्चिम भएको भए उत्तम विमानस्थल हुने दावी उहाँको छ ।
अहिले सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई एक हजार २५० मिटर छ । केही पहिले एक हजार मिटर थियो । २४० मिटर थप गरेपछि अहिलेको अवस्थामा निजी क्षेत्रको विमानस्थले दैनिक एक उडान सुर्खेत काठमाडौं गर्दै आएको छ । यो धावनमार्गलाई अझै ३०० मिटर थप गर्नुपर्ने गृहकार्य पनि थालिएको छ । तर उपयुक्त निष्कर्ष आउन सकेको छैन ।
धावनमार्ग दक्षिणतर्फ बढाउन नसकिने र उत्तरतर्फ बढाउँदा धेरै मुआव्जा दिनुपर्ने कारणले धावनमार्ग विस्तार हुन्छ कि हुँदैन भन्ने अन्यौल कायमै छ । दक्षिणतर्फ राजमार्ग र काँक्रेविहार डाँडो पर्ने हुँदा असम्भव नै छ । उत्तरतर्फ बढाउन सकिने आवाज पनि उठेको छ । तर कार्यालय प्रमुख पन्थीले ३०० मिटर थप्दा ठूला जहाज आउने हुन् कि होइन भनेर प्राविधिक मूल्यांकन गर्न आवश्यक रहेको सुझाव दिनुहुन्छ । उहाँले उत्तरतर्फ धावनमार्ग बढाउँदा ५० केजी बढीमात्रै भार बोक्नसक्ने हुँदा प्राविधिक पक्षको मूल्यांकन गर्नुपर्ने उल्लेख गर्नुभयो । यान्त्रिक उडान (आईएफआर) गर्न सकेको खण्डमा यही धावनमार्गमा पनि ठूला जहाजको उडान र अवतरण गर्न गराउन सकिने उहाँको भनाइ छ ।
सुर्खेत विमानस्थललाई अत्याधुनिक उपकरणसहितको विमानस्थल बनाउने गृहकार्यपनि भइरहेको छ । कार्यालय प्रमुख पन्थीले यसै आर्थिक बर्षभित्र स्क्यानिङ मेसिन आइपुग्ने बताउनुभयो । मेसिन आएपछि यात्रुका सामानहरु चेक जाँच गर्न सहज हुनेछ । अहिले प्रहरीले सामान जाँच गर्ने गरेका छन् । स्क्यानिङ मेसिनका लागि ६० लाख बजेट बिनियोजन भएको र सम्भवत आगामी जेठभित्रमै जडान गरी काम सुरु हुने उहाँको भनाइ छ ।