logo
२०८१ मंसिर ११ मंगलवार



अमेरिकामा हुने आम्दानी गाउँमै

खुला |


अमेरिकामा हुने आम्दानी गाउँमै



चरीकोट समाचारदाता

दोलखा, मङ्सिर १८ गते । दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाउनुभएको छ ।
बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।
१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधँैभरि उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’
१२ कक्षासम्म अध्ययन गरेर जागिरे जीवन पनि सुरु गरेका न्यौपानेले जागिरले घर व्यवहार चलाउन नसक्दा तरकारी खेतीमा लागेको बताउनुभयो । २०६८ सालबाट तरकारी खेती सुरु गरेका न्यापानेले तरकारीको आम्दानीबाटै आमाबुबा, छोराछोरी र श्रीमतीसहित छ जनाको परिवार धानेका छन् ।
उहाँले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाउनुका साथै जमिनसमेत जोड्नुभएको छ । दैनिक १० देखि १२ घण्टासम्म खेतबारीमै समय बिताउँदा विदेशको भन्दा दोब्बर कमाइ हुने भएाकालेले पनि आफूलाई विदेश जाने रहर नजागेको बताउनुभयो । उहाँले भन्नुभयो, मिहिनेत गरे यही अमेरिकाभन्दा बढी कमाइ हुन्छ भने किन विदेश जाने ?
तरकारीमा विषादी प्रयोग नगर्नुका साथै गाईभैँसी र कुखुराको गोठे मल प्रयोग गरेर आर्गनिक तरकारी उत्पादन गर्दा बजारमा आफ्नो तरकारीको माग निकै बढी हुने गरेको उहाँ बताउनुहुन्छ ।
न्यौपाने एग्रिकल्चर पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर तरकारी खेतीमा लागेका न्यापानेले हिउँदमा सिँचाइको व्यवस्थापन गर्न नजिकैको पाटीखोलाबाट पाइपमा पानी ल्याउनुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?