महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १८ गते । महोत्तरी जिल्लाको विभिन्न ठाउँबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुपदार्थसहित तिन जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा एकडारा गाउँपालिका वडानं. ३ बस्ने वर्ष २४ को पप्पुकुमार मण्डल, सोही ठाउँबस्ने उनीसंगै रहेका रोशनकुमार मण्डल तथा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडानं. ५ बस्ने मोहम्मद सजिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट नौ सय पिस बरामद गरेको छ । प्रहरीले मण्डललाई सहयोग गर्ने रोशनको साथबाट दुई हजार ५८ रुपैयाँ र एक मोबाईल बरामद गरेको जनाएको छ ।
त्यस्तै, जिल्लाको बर्दिबास बर्दिबास नगरपालिका वडा नं. १ स्थित सडक बाटोमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं.५ का मोहम्मद सजिमलाई शंकाको आधारमा चेकजाँच गर्दा निजले बोकी आएको झोला भित्र कालो प्लाष्टिकको झोलामा छुटाछुटै पोको पारी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नाइट्रोभेट २ दुई ४० चक्की टयाबलेट, भ्यानेरेगन ईन्जेक्सन ३०० एम्पुल, नोभिन लेखिएको ईन्जेक्सन २८८ एम्पुल र डाइजेपाम लेखिएको २९६ एम्पुल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका तिनैजनालाई आवश्यक अनुसन्धानको लागि प्रहरीमा राखिएको जनाइएको छ ।