सर्लाही, मङ्सिर १८ गते । गढिमाई दर्शनका लागि भक्तजनहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बारामा लागिरहेको गढिमाई मेलामा दर्शन गर्न र पशु बली चढाउन सर्लाहीबाट समेत ठूलो संख्यामा श्रद्धालुहरु गइरहेका छन् । उनीहरुमध्ये अधिकांशले ट्याक्टरमा जोखिमको ख्याल नगरी यात्रा गरिरहेका हुन् । विशेष गरी जिल्लाको राजमार्ग भन्दा दक्षिणका प्रत्येकजसो गाउँबाट मालसमान ढुवानी गर्ने ट्याक्टर रिर्जभ गरी स्थानीय वासिन्दा गढिमाई दर्शनका लागि गइरहेका छन् ।
धार्मिक आस्था अनुसार ठूलो संख्यामा सर्वसाधारण गढिमाई दर्शन गर्न जाने भएकाले ट्राफिक प्रहरीले पनि ट्याक्टरमा कोचामकोच यात्रा गर्दा समेत रोकतोक गरेको छैन् । अहिले मालवाहक साना सवारी र ट्याक्टरलाई गढिमाई मेला स्थलसम्म यात्रु ओसार्न भ्याईनभ्याई छ । यसरी निकै जोखिम मोलेर यात्रा तय गर्दा डरलाग्दो दुर्घटनाको सम्भावना रहेको जानकारहरुले बताएका छन् ।
सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा अहिले साना केटाकेटीदेखि वृद्धबृद्धासम्म सामान ओसार्न प्रयोग हुने साना गाडी र ट्याक्टरमा झुण्डिएर गढिमाई दर्शनका लागि गइरहेको देखिन्छ । मङ्गलवारबाट यो क्रम झन् तीव्र भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।